| |

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, माघ ३ । मंगलबार आज मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नुभएको छ । उहाँले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त हुनुभएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ भने सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ।
यसैगरी, नेकपा (एमाले) बाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनुभएको छ । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सहरी विकास मन्त्रीमा विक्रम पाण्डे र कानुन मन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाउनुभएको छ भने राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) बाट डोलप्रसाद अर्याल श्रम र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नुभएको छ ।
यस अघि गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts