| | |

आफ्नै नयाँ भवनमा तीनवटा प्रहरी कार्यालय

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १६ । ताप्लेजुङमा छुट्टाछुट्टै तीनवटा प्रहरी कार्यालयको नयाँ भवन सञ्चालनमा आएका छन् । एउटा इलाका प्रहरी कार्यालय र दुईवटा प्रहरीचौकीको कार्यालय भवन निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएका हुन् ।
जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेस्थित इलाका प्रहरी कार्यालय दोभान, सिरिजङ्घा गाउँपालिका–७ खेबाङ प्रहरीचौकी र पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनमा रहेको प्रहरीचौकीको नयाँ कार्यालय भवन निर्माण गरिएका हुन् । उक्त तीनवटै प्रहरी कार्यालय भवनको प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले उद्घाटन गर्नुभएको छ ।
प्रहरी नायव महानिरीक्षक गिरीद्वारा भवनको एकसाथ उद्घाटन भएसँगै सोही नयाँ भवनबाट प्रहरी कार्यालयहरु सञ्चालनमा ल्याइएका छन् । प्रदेश १ सरकारको बजेटबाट प्रहरी कार्यालय भवनहरु निर्माण गरिएको बताइएको छ । इलाका प्रहरी कार्यालय दोभानको नयाँ भवन तीन करोड ५९ लाख ३० हजार ६२७ रुपियाँको लागतमा निर्माण गरिएको हो ।
यस्तै खेबाङ प्रहरी चौकी भवन एक करोड ८५ लाख ७२ हजार १५० रुपियाँ र थुम्बेदिन प्रहरीचौकी भवन एक करोड ६५ लाख २२ हजार ६३४ रुपियाँको लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । इलाका प्रहरी कार्यालय दोभानको नवनिर्मित भवनको १५ वटा कोठालाई कार्यालय प्रमुख, प्रशासनिक, सूचना तथा सञ्चार कक्ष, पुरुष तथा महिला हिरासत लगायतमा प्रयोजन गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिनुभयो ।
उक्त तीनवटा भूकम्प प्रतिरोधी नयाँ भवन निर्माणसँगै प्रहरी कार्यालय सञ्चालनमा आए पनि धेरै प्रहरी कार्यालयहरु जीर्ण भवन तथा संरचनामा सञ्चालन हुँदै आएका छन् । कार्यालय सञ्चालनका लागि भरपर्दो र व्यवस्थित संरचना नहुँदा सुरक्षा तथा सेवा प्रवाहमा असहज अवस्था रहँदै आएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालयबाहेक दोभान, सिरिजङ्घा गाउँपालिका–४ तेल्लोक, फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको याङ्मा र वडा–७ ओलाङ्चुङगोलासमेत गरी चारवटा इलाका प्रहरी कार्यालय रहेका छन् । कारागार कार्यालय, सुकेटार विमानस्थल सुरक्षा, जिल्ला प्रशासन कार्यालय सुरक्षा, जिल्ला अदालत सुरक्षा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय एक–एकवटा रहेका छन् । त्यस्तै प्रहरी चौकी १६, अस्थायी प्रहरी चौकी सात र अस्थायी प्रहरी पोष्ट चारवटा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts