| |

टिपतालामा पत्रकारको भेला गर्न प्रस्ताव

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला भञ्ज्याङमा नेपाली पत्रकारहरुको भेला गर्न प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित तिब्बतसँगको नाका टिपताला भञ्ज्याङमा पत्रकारहरुको भेला गराउने प्रस्ताव गरेको हो ।
नेपाल–चीन द्विदेशीय सम्बन्ध विकास तथा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले टिपताला भञ्ज्याङमा पत्रकार भेला गर्ने प्रस्ताव राखेको हो । सदरमुकाम फुङ्लिङमा बिहीबार सम्पन्न शाखाको १० औं साधारणसभाले टिपताला भञ्ज्याङमा पत्रकारहरुको भेला गर्ने प्रस्ताव परित गरेको छ । टिपताला भञ्ज्याङमा जिल्ला, प्रदेश र केन्द्रका पत्रकारको भेला गराई द्विदेशीय विकास, पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनजस्ता विषयमा ध्यानाकर्षण गराउन सकिनेभन्दै साधारणसभाले भेलाको प्रस्ताव पारित गरेको हो ।
टिपताला भञ्ज्याङ समुद्र सतहदेखि पाँच हजार १०० मिटरको उचाइमा पर्दछ । टिपताला एक पर्यटकीय गन्तव्यसँगै नेपाल तिब्बतको व्यापारिक नाका पनि हो । टिपताला नाका हुँदै नेपालमा उत्पादित जडीबुडी लगायतका विभिन्न सामग्री चीनमा निर्यात गर्ने गरिन्छ । चीनदेखि खाद्यवस्तु लगायतका आवश्यकीय सामग्री आयात गर्ने गरिन्छ । पश्चिम नेपालको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुवात विन्दु ओलाङ्चुङगोला टिपताला भञ्ज्याङ भएकाले पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ ।
यस्तै साधारण सभामार्फत जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको स्वास्थ्य बीमा गर्ने, पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न समाचार लेखन, फोटो पत्रकारिता, भिडियो ग्राफीलागयतका तालिमसमेत सञ्चालन गर्ने प्रस्ताव परित गरेको महासङ्घ शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार शाखा कार्यालयमा सूचना केन्द्र तथा ई–लाइब्रेरी सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाउनेलगायतका प्रस्तावहरु सभाले पारित गरेको छ ।
यसैबीच जिल्ला शाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शाखाले साधारणसभाको अवसरमा महासंघको साधारण सदस्य भई स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । जिल्लाको आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित शान्ताकुमारी आङ्बुहाङ लिम्बू र फुङ्लिङ नगरपालिका–२ को वडा सदस्यमा निर्वाचित लिलाचक्र गुरुङलाई सम्मान गरिएको हो ।
आङ्बुहाङ र गुरुङलाई साधारणसभाका प्रमुख अतिथि ताप्लेजुङबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । यता जनप्रतिनिधि भएसँगै पत्रकारिताबाट राजनीति क्षेत्रमा प्रवेश गर्नुभएकाले आङ्बुहाङ र गुरुङलाई सम्मानसँगै शाखाले विदाईसमेत गरेको छ । शाखाले विदाई गरेपछि आङ्बुहाङ र गुरुङ अब नेपाल पत्रकार महासंघको साधारण सदस्य रहनुभएन । आङ्बुहाङ ताप्लेजुङ शाखाको सदस्यसँगै महासंघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने गुरुङ शाखाको साधारण सदस्य रहनुभएको थियो ।
साधारणसभामा शाखा सचिव सुवास आचार्यले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मदन गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सभामा सहभागी पत्रकारहरुले दिएको सुझावअनुसार परिमार्जनसहित पारित गरिएको छ । साधारणसभाको उद्घाटनमा प्रमुख अतिथि भट्टराईसहित प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाम, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, पत्रकार महासंघ १ नं. प्रदेश समितिका उपाध्यक्ष लबदेव ढुङ्गाना लगायतले शुभकामना दिनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts