| |

फुङ्लिङ नगरपालिका आफ्नै भवनमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका स्थापना भएको करिव नौ वर्षपछि माअ आफ्नै प्रशासकीय भवन निर्माण भएको हो ।
फुङ्लिङ नगरपालिका–७ दोखुको गैरीगाउँमा निर्माण भएको प्रशासकीय भवनको सोमबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले उद्घाटन गर्नुभएको छ । प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै प्रदेश मन्त्री हाङगामले ढिलै भए पनि फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणपछि सेवाग्राहीले सर्वसुलभ सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले जनता अर्थात सेवाग्राहीलाई प्रत्यक्ष सरकारको अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले फुङ्लिङ नगरपालिका मात्र नभई जिल्लाका नौ वटै स्थानीय तह र ६१ वटै वडाको आफ्नै कार्यालय भवन हुनुपर्नेमा जोड दिनुभयो । आफ्नै प्रशासकीय भवन वा कार्यालय भएमा मात्र सहज रुपमा सेवा प्रवाह गर्न सकिने र सोहीअनुसार जनताले सेवा पाउने उहाँले बताउनुभयो ।
यस्तै फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आफ्नै प्रशासकीय भवन निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । आफ्नै प्रशासकीय भवन बनेकाले अब सुशासन र सहज रुपमा सेवा प्रवाह हुनेमा आफू ढुक्क रहेको पनि नगर प्रमुख मादेनले बताउनुभयो । उहाँले नगरवासी जनताको हितलाई ध्यानमा राखेर नगरप्रमुखको हैसियतले आफू काममा लागिपर्ने र सबैलाई अनुभूत हुनेगरी काम गरेर देखाउने पनि प्रतिवद्धता जनाउनुभयो ।
प्रशासकीय भवन पाँच रोपनी क्षेत्रफल बराबरको जग्गामा निर्माण गरिएको फुङ्लिङ नगरपालिकाका सूचना अधिकारी भूपालकुमार सेन्दाङले जानकारी दिनुभयो । प्रशासकीय भवन निर्माण प्रक्रिया २०७२ सालतिर नै सुरु भएको भए पनि यसवर्ष मात्र निर्माण सम्पन्न भएको सूचना अधिकारी सेन्दाङले बताउनुभयो । उहाँका अनुसार २८ वटा कोठा भएको चारतले प्रशासकीय भवन कुल सात करोड ९६ लाख रुपियाँमा निर्माण भएको हो ।
फुङ्लिङ नगरपालिकाका अनुसार खड्का कृष्ण–बङ्गलामुखी जेभी कम्पनी काठमाडौंले प्रशासकीय भवन निर्माणको जिम्मा पाएको थियो । निर्धारित समयमा निर्माणको काम नसकेपछि भवन सम्पन्न हुनमा ढिलाई भएको हो । कात्तिक मसान्त सम्मलाई थप भएको अतिरिक्त समयमा मात्र भवन निर्माण सम्पन्न भएपछि उद्घाटन गर्न सम्भव भएको नगरपालिकाले जनाएको छ ।
नव–निर्मित प्रशासकीय भवनको उद्घाटन भएसँगै सोही भवनबाट सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिनुभयो । अब दुई दिनभित्र कोठा तथा फर्निचर व्यवस्थापनको काम सक्ने र त्यसपछि अर्थात यही बुधबारदेखि नयाँ प्रशासकीय भवनदेखि नै नगरपालिकाको सम्पूर्ण कार्य सम्पादन सुरु गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत रिमालको भनाइ छ ।
हालसम्म फुङ्लिङ बजारको वीरेन्द्र चौकस्थित एक व्यक्तिको निजी घरमा भाडामा नगरपालिकाको कार्यालय सञ्चालन हुँदै आएको थियो । सुरुमा ताप्लेजुङ नगरपालिका र २०७३ सालपछि नाम परिवर्तन भई फुङ्लिङ नगरपालिका भएको भएको हो । ताप्लेजुङ नगरपालिका हुँदैदेखि प्रशासकीय भवन निर्माणको प्रक्रिया सुरु भएको बताइएको छ ।
यता प्रशासकीय भवनको यसअघि निवर्तमान नगरप्रमुख छत्रपति प्याकुरेल आफैँले उद्घाटन गर्नुभएको थियो । भवन निर्माण कार्य जारी रहेकै बेला प्याकुरेलले उद्घाटन गर्नुभएको हो । यसअघि निर्माण कार्य नसकिँदै तथा विधि र प्रक्रिया नपु¥याई प्रशासकीय भवन उद्घाटन गर्न खोजिएकाले अहिले प्रक्रिया पूरा गरेर प्रदेश मन्त्रीको उपस्थितिमा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts