जीडीपीमा अलैँचीको योगदान प्रदेश १ कै एक नम्बर

खगेन्द्र अधिकारी
ताप्लेजुङ, मङ्सिर २२ । कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैँचीको योगदान एक नम्बरको भएको भएको निस्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औंल्याइएको छ । बुधबार ताप्लेजुङमा आयोजित एक अन्तक्र्रियामा कम्युनिटी इङ्गेजमेन्ट एण्ड आउट रिच प्रालिले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अलैँचीको योगदान उच्च अर्थात एक नम्बरको भएको जानकारी गराइएको हो ।
क्षेत्रीय र स्थानीय आर्थिक वृद्धिका लागि अन्तर स्थानीय तह सहकार्यका बारेमा अन्तक्र्रिया गर्दै प्रालिले तयार गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्ययन टोलीका उपनेता अनिरुद्र न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै अलैँचीले कृषितर्फको कूल ग्राहस्थ उत्पादनमा अलैँचीले बिगत पाँच वर्षमा ५.९ प्रतिशतदेखि ७.९ प्रतिशतसम्म योगदान दिएको बताउनुभयो । यस्तै अलैँचीबाट प्रदेशको समग्र अर्थतन्त्रमा भने औसत २ प्रतिशतसम्म योगदान रहेको न्यौपानेले सुनाउनुभयो ।
जीडीपीमा योगदान र वृद्धिको अवस्थालाई आधार मानी उत्पादनका बिभिन्न १३ वटा सेवा क्षेत्रबारे अध्ययन भएको उहाँको भनाइ थियो । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म अलैँचीको औषत वार्षिक निर्यात चार अर्ब १६ करोड रुपियाँ बढी रहेको पाइएको छ । अलैँचीलाई प्रदेश १ को मात्र मुलुककै मुख्य निर्यात वस्तुका रुपमा रहेको हेर्ने गरिएको छ ।
न्यौपानेका अनुसार अध्ययन क्षेत्रमा कृषि क्षेत्र, उद्योग र सेवा क्षेत्रलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो । कृषि क्षेत्रमा अन्नबालीतर्फ धान, मकै, गहुँ र कोदो, पशुपालनतर्फ गाई र भैंसी, तरकारी बालीतर्फ बन्दा, गोलभेडा, काउली, नगदेबालीतर्फ आलु, मसला बालीतर्फ अलैँची र अदुवा तथा फलफूल उत्पादनतर्फ सुन्तला र केरालाई उत्पादन सेवा उपक्षेत्रको रुपमा लिइएको थियो । यि मध्ये आय र रोजगार वृद्धिको दृष्टिले जीडीपीमा अलैँचीको योगदान प्रदेशभरीकै अब्बल देखिएको उहाँले सुनाउनुभयो ।
अध्ययन टोलीमा संलग्न विज्ञ तथा त्रिभुवन विश्व बिद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डा. अर्जुन बरालले अलैँचीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि क्षेत्रगत सहकार्य अनिवार्य रहेको निस्कर्ष सुनाउनुभयो । अलैँचीमार्फत जीडीपीमा भएको योगदान अतुलनीय रहेकोले यसलाई थप प्रभावकारी बनाउन उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको उहाँको भनाइ थियो ।
प्राध्यापक डाक्टर बरालले यसका लागि अलैँची उत्पादन हुने क्षेत्रका सरोकारवालाहरुको अनुभवको आदान–प्रदान तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि आधारतय गर्नु अनिवार्य रहेको अध्ययन अनुभव सुनाउनुभयो । अध्ययन टोलीका अनुसार अलैँची उत्पादकत्वका दृष्टिले प्राय सबै वर्ष स्थिर अवस्था रहेको छ ।
कृषि निर्देशनालयको तथ्याङ्क उधृत गर्दै बरालका अनुसार पूर्वी नेपालमा अलैँचीको उत्पादकत्व अधिकतम् ०.५४ प्रति हेक्टरसम्म देखिएको छ । न्यूनतम् उत्पादकत्व ०.५० हेक्टर सम्म रहेको छ । प्रदेश १ भरीका सबैभन्दा बढी अलैँची ताप्लेजुङमा त्यसपछि पाँचथर, इलाम, संखुवासभा र खोटाङमा उत्पादन हुने गरेको अध्ययन टोलीले जनाएको छ ।
प्रदेश १ भरीका १५ हजार ७२८ हेक्टरमा अलैँची लगाउन सकिने खेतीयोग्य जमिन भए पनि १४ हजार ७०५ हेक्टरमा मात्र खेती गरिएको अध्ययन टोलीले बताएको छ । उत्पादन र उत्पादकत्व वृद्धिका लागि अन्तर स्थानीय तह सहकार्य बढाउने, बालीमा देखिएका समस्या हटाउने र उत्पादकत्व वृद्धिका लागि स्थानीयता अनुसार बाली र स्याहारमा गुणस्तरीयता कायम गर्नुपर्ने सरोकारवालाको निस्कर्ष रहेको छ ।