ताप्लेजुङमा गठबन्धनद्वारा मतदाता भेटघाट सुरु
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २९ । ताप्लेजुङमा वाम लोकतान्त्रिक गठबन्धनले मतदातासँग भेटघाट गर्न सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गठबन्धन दलका नेता तथा उम्मेदवारले मतदातासँगैको भेटघाट सुरु गरेका हुन् ।
जिल्लामा गठबन्धनमा आवद्ध दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आफ्ना उम्मेदवारसहित मतदातालाई भेटघाट गर्न थालेका हुन् । माओवादी केन्द्र ताप्लेजुङका सहइन्चार्ज एवम् गठबन्धनको निर्वाचन परिचालन सचिवालयका संयोजक मिङ्माडण्डु शेर्पाका अनुसार गठबन्धनले शनिबारदेखि मतदातासँग भेटघाट सुरु गरेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनेगरी मतदाता भेटघाट कार्यक्रमलाई सुरु गरिएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आचारसंहिता समेतलाई दृष्टितग गरी गठबन्धन दलका नेता तथा उम्मेदवारले अनौपचारिक रुपमा मतदाताको मत (भोट) माग्न थालेका हुन् । आफ्ना उम्मेदवारलाई अध्यधिक मतले विजयी गराउन गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्वाचनमा केन्द्रित भएको उहाँले बताउनुभयो ।
गठबन्धनले आउँदो कात्तिक १६ पछि भने औपचारिक रुपमा चुनावी कार्यक्रम सञ्चालन गर्नेगरी तयारी गरेको जनाएको छ । औपचारिक कार्यक्रमअन्तर्गत चुनावी सभा, निर्वाचनसँग सम्बन्धित खुल्ला कार्यक्रमहरु गरिने नेपाली काँग्रेसका जिल्ला उपसभापति एवम् निर्वाचन परिचालन सचिवालयका सदस्य डिल्लीरमण बरालले जानकारी दिनुभयो ।
एक प्रतिनिधिसभा र दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री उम्मेदवार रहनुभएको छ । त्यस्तै प्रदेशसभा सदस्यतर्फ प्रदेश (क) मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेमबहादुर वनेम र प्रदेश क्षेत्र (ख) मा नेपाली काँग्रेसका प्रदेश (ख) का क्षेत्रीय सभापति खगेनसिंह हाङ्गाम उम्मेदवार हुनुहुन्छ ।
यसैगरी जिल्लामा नेकपा (एमाले) लगायतका दलले पनि मतदाता भेटघाटसहितको निर्वाचन गतिविधि सुरु गरेका छन् । एमालेबाट केन्द्रीय सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्य, पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बो प्रदेश क्षेत्र (क) र गोपाल थोप्रा प्रदेश (ख) मा उम्मेदवार रहनुभएको छ ।