| |

आईएमई लुटपाट प्रकरणः तीनजना आरोपी सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २४ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमई लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । फुङ्लिङ बजारको वीरेन्द्रचौकस्थित कञ्चन मनि ट्रान्सफरमा लुटपाट मच्चाउनेमध्ये तीनजनालाई सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीद्वारा सार्वजनिक गरिएकामा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भनिने राजायन्द्र पर्तेल, झापाको शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र अर्जुनधारा नगरपालिका–१० का मणिराज पर्तेल रहेका छन् । राजायन्द्र घटना भएकै दिन र सुनार दोस्रो दिन फुङ्लिङबाट पक्राउ परेका थिए भने मणिराज तीन दिनपछि झापाबाट पक्राउ परेका थिए ।
आईएमई लुटपाट घटनामा संलग्न चारजनामध्ये एकजना अझै फरार रहेका र निजको खोजी कार्य तीब्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीले आईएमईबाट लुटिएको एकसय ४३ तोला सुनका गहगहाना र छ लाख १३ हजार ३४० रुपियाँ नगदसमेत सार्वजनिक गरेको छ । उनीहरुले प्रयोग गरेको एकथान पेस्तोलसमेत सार्वजनिक गरिएको छ ।
पक्राउ परेका तीनैजना लागूऔषधको प्रयोगकर्ता भएका पाइएको पनि पत्रकार सम्मेलनमा ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिनुभयो । प्रनाउ राईका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमईमा कार्यरत एक महिला कर्मचारीलाई नियन्त्रणमा लिई योजनाबद्ध लुटपाट गरिएको छ । उक्त समूहले दशैँको अष्टमीको दिन अर्थात गत साताको सोमबार बिहान करिव ९ः२१ बजे आईएमईमा लुटपाट मच्चाएका थिए ।
पक्राउ परेकामाथि डाका कसुरको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आइतबार थप १० दिनको म्याद लिएर अनुसन्धानको कार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । आईएमईका सञ्चालक अमरकुमार श्रेष्ठले भने तीनसय ४८ तोला सुनको गरगहाना र नगद ११ लाख ६३ हजार २५० रुपियाँ लुटिएको भनी प्रहरीमा जाहेरी दिनुभएको बताइएको छ । सञ्चालक श्रेष्ठ श्रीमती मैया श्रेष्ठसहित दशैँको विदाको समयमा अस्ट्रेलिया भ्रमणमा गएको समयमा लुटपाटको घटना भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts