मेयरकप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक,नौ टीम चार समूहमा बिभाजित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । ताप्लेजुङको फुङलिङमा शनिवारबाट सुरु हुने मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल सहित खेलमा सहभागी टीमका व्यवस्थापक,प्रशिक्षक र खेलप्रतिनिधिको उपस्थितिमा प्राविधिक समितिले खेल तालिका सार्वजनिक गरेको हो । रेफ्री संयोजक थर्ककुमार चोङ्वाङ(दिवस)का अनुसार शनिवार १० बजेपछि हुने पहिलो खेलमा सिदिङ्वा गाउँपालिका र फुङ्लिङ नगरपालिकाको टीम भिड्नेछन् । दोस्रो खेलमा मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाको टीम आमनेसामने हुँदा तेस्रो खेलमा आठराइ त्रिबेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिका भिड्नेछन् । पहिलो दिनको चौथो तथा अन्तिम खेलमा गतबर्षको डिफेण्डिङ् च्याम्पियन सिदिङ्वा गाउँपालिकाले मिक्वाखोला गाउँपालिकासंग यो बर्षको दोस्रो खेल खेल्ने छ ।
चार समूहमा बिभाजन गरिएको समूह‘ए’मा सिदिङ्वा गाउँपालिका,फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका रहेका छन् । समूह ‘बि’मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिका,समूह ‘सि’मा आठराइ त्रिबेणी गाउँपालिका तथा मेरिङ्देन गाउँपालिका तथा समूह‘डि’मा सिरिजङ्गा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिका रहेका छन् । सिरिजङ्गा गाउँपालिका गतबर्षको उपबिजेता रहेको छ । खेल सञ्चालनका लागि यसपटक आयोजकले जिल्ला बाहिरका दुईजना राष्ट्रिय रेफ्री समेत झिकाएको छ । सत्यराम न्हिसुतु र रुपलाल तामाङलाई झिकाइएको हो । यसबाहेक जिल्लामा रहेका राष्ट्रिय तथा क्षेत्रीय रेफ्रीले समेत खेल सञ्चालन गर्नुहुने भएको छ ।
प्रदेश १ भलिबल संघका उपाध्यक्ष डम्बर लङ्वाको संयोजकत्वमा जुरी कमिटी बनाइएको जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारीले जानकारी दिनुभयो । खेल सञ्चालनका लागि जिल्ला भलिबल संघले प्राविधिक तथा परार्मशीय सहयोग गर्ने भएको छ । खेल सञ्चालन पूर्व टीम व्यवस्थापक,टीम कोच र टीम क्याप्टेनलाई सम्बोधन गर्दै नगरप्रमुख मादेनले अनुशासित र संयमित भएर खेल खेल्न आग्रह गर्नुभयो । खेल सञ्चालन सभ्य,निश्पक्ष र पारदर्शी बनाउन प्राविधिक टिमलाई उहाँले अनुरोध समेत गर्नु भएको छ ।
खेल संयोजक तथा फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवारले संयमित,अनुशासित र नियमपूर्वकको खेल खेलाई र सञ्चालनले प्रतियोगिता सफल हुने बिश्वास लिनुभयो । उहाँले खेलका तीन सिद्धान्त क्रमशःविकास,अनुशासन र गतिशिलताको मर्मलाई सम्मान गर्न सबैलाई आग्रह गर्नु भएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर यसपटक साविक भन्दा पहिले नै असोज महिनामै मेयरकप रनिङ अन्तरपालिका भलिबल प्रतियोगिता हुन लागेको हो । साविकमा यो प्रतियोगिता फागुन–चैत महिनामा हुने गरेको थियो ।