ताप्लेजुङमा १ हजार बढीले दिए म्यादी प्रहरीका लागि आबेदन,स्थानीय तहभन्दा आबेदन दिनेको संख्या ६ सय कम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ७ । आउँदो प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा ताप्लेजुङबाट १ हजार २ जनाले म्यादी प्रहरीका लागि आबेदन दिएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा १ हजार ६ सय २ जनाले आबेदन दिएका थिए । स्थानीय तहको भन्दा अहिले ६ सय कमको आबेदन परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईका अनुसार ७ सय ६४ पुरुष र २ सय ३८ महिलाले आबेदन दिएका छन् । त्यसमध्ये ३ सय १० पुरुष र १ सय १२ महिला गरी कूल ४ सय २२ जना पूर्व म्यादी प्रहरीले आबेदन दिएको प्रहरीले जनाएको छ । नेपाली सेनाबाट सेवानिवृत्त २ जनाले आबेदन दिएका छन् ।

४ सय ५२ पुरुष तथा १ सय २६ महिला गरी ५ सय ७८ जनाले भने पहिलोपटक म्यादी प्रहरीका लागि आबेदन दिएका छन् । डिएसपी राईका अनुसार कति संख्यामा म्यादी प्रहरीमा भर्ना लिने भन्ने चाँहि एकिन भएको छैन । गत स्थानीय तहको निर्वाचनमा भन्दा दुईवटा मतदानस्थल थप भएकोले म्यादी प्रहरीको भर्ना संख्या पनि स्थानीय तहको भन्दा बढ्न सक्ने भने देखिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा ६ सय ५५ जना म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुने भएको छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७ सय ६० रूपैयाँ प्राप्त हुनेछ । यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २ सय रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीले जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ ।

हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुने भएको छ । निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ । अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ । प्रहरी प्रधान कार्यालयले भदौ ३० गते देखि असोज ६ गते सम्ममा म्यादी प्रहरी भर्नाका लागि आबेदन दिने समयसीमा निर्धारण गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts