‘आत्महत्या रोकथामका लागि सामूहिक प्रयास र प्रतिबद्धताको खाँचो’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २ । ताप्लेजुङका सरोकारवालाहरुले आत्महत्या रोकथामका लागि सामूहिक प्रयास र प्रतिबद्धताको खाँचो औंल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतवार फुङलिङमा आयोजना गरेको आत्महत्या रोकथाम सम्वन्धी सचेतना अभियानको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याइएको हो । निमित्त प्रमुुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले अमूल्य जीवनलाई त्याग गर्ने सोच कदापीपनि उत्तम नहुने बताउनुभयो । आत्महत्या मानसिक समस्याको उपज भएको बताउँदै मानवीय जीवनको महत्व बुझाएर आत्महत्या रोकथामका लागि संयुक्त रुपमा जागरण चलाउनुपर्ने उहाँको धारणा थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका निमित्त प्रमुख दीपेन्द्र दनुवारले आत्महत्या रोकथामका लागि सबभन्दा बढी सम्वन्धित परिवार वा अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या एक अपराधको रुपमा रहेको भन्दै उहाँले मान्छेले आत्महत्या पूर्व देखाउने केहि संकेतका आधारमा सम्वन्धित पक्षले रोकथामका लागि मार्गप्रसस्त गनुपर्नेमा जोड दिनुभयो । ताप्लेजुङ जिल्ला अस्पतालका एमडिजीपि डाक्टर महेश्वर गोसाँईले आत्महत्याका पछि कुनै न कुनै कारण हुने औंल्याउँदै ति कारणको पहिचान गरी मानिसलाई सामाजिक दैनिकीमा पुर्नस्थापित गर्नु आत्महत्या रोकथामका लागि प्रमुख कार्य हुने बताउनुभयो । समयमै लक्षण पत्ता लगाउने हो भने आत्महत्या रोकथामका लागि योगदान पुग्ने उहाँको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख, प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले आत्महत्या रोकथामका लागि आफुहरु समुदायका सदस्यसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा आत्महत्याको श्रिंखला र यसको रोकथामका उपायका बारेमा इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक अवधकिशोर ओझाले प्रस्तुतीकरण गर्नु भएको थियो । यसअघि सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाउने गरी कार्यक्रम तय भएकोमा बेलायती महारानी एलजावेथको निधन पछि शोकमा यो कार्यक्रम स्थगित भएको थियो ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी,सामाजिक संघसंस्था,महिला समूह,नागरिक समाजका अगुवा,पूर्व प्रहरी संगठन र बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागितामा प्लेकार्डसहित फुङ्लिङ नगर क्षेत्रमा ¥याली निकालिएको थियो ।


विज्ञहरुका अनुसार युवा तथा किशोर किशोरी, सम्वन्ध विच्छेद गरेर एक्लो जिवन बाँचिरहेका व्यक्तिहरु, तनावयुक्त बैवाहिक जीवन, घरवार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरु, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका ब्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् ।

आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख कारणको रुपमा लिने गरिन्छ । आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथी भाईहरुले सहयोग गनुपर्ने विज्ञहरुले सल्लाह दिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts