ताप्लेजुङका तीनवटा पालिकाका कुनैपनि बिद्यालयले नपाउने भए राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको अनुदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३१ । ताप्लेजुङका तीनवटा पालिकाका कुनैपनि बिद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान नपाउने स्थिति देखिएको छ ।

चालू आर्थिक बर्ष २०७९।०८० मा यस्तो प्रकृतिको अनुदान बितरण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ३ हजार ४ सय ७५ बिद्यालय छनौट गर्दा सिरिजङ्गा गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका कुनैपनि बिद्यालय छनौट भएनन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले तीनवटा पालिकाका कुनैपनि बिद्यालय अनुदान पाउने क्रममा छनौट हुन नसकेको भन्दै यसका बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ध्यानाकर्षण गरेको जनाउनु भएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङका छ स्थानीय तहका २२ वटा बिद्यालय भने अनुदान पाउन गरी छनौट भएका छन् ।

मिक्वाखोला गाउँपालिका ३ बिद्यालयले अनुदान पाउने छन् । किलिङ आधारभूत बिद्यालय र राजेश्वरी आधारभूत बिद्यालय प्रत्येकले २ कोठे भवन निर्माणका लागि समान २७ लाख ५० हजार रुपैंयाका दरले अनुदान पाउने छन् । पञ्चेश्वरी माविले भने ४ कोठे भवनका लागि ५५ लाख रुपैंया अनुदान पाउने छ । यस्तै सिदिङ्वा गाउँपालिकाकाका ४ बिद्यालय अनुदान पाउने गरी छनौट भएका छन् । जसअनुसार जलेश्वरी आधारभूत बिद्यालय र सिंहदेवी आधारभूत बिद्यालय प्रत्येकले २ कोठे भवन निर्माणका लागि समान २७ लाख ५० हजार रुपैंयाका दरले अनुदान पाउने छन् । निलगिरी माध्यमिक बिद्यालयले आइसिटीका लागि ६ लाख ५० हजार र साब्लाखुस्थित सरस्वती माध्यमिक बिद्यालयले ४ कोठे भवनका लागि ५५ लाख रुपैंया अनुदान पाउने भएको छ ।

यस्तै फुङ्लिङ नगरपालिका ५ वटा बिद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान पाउने भएका छन् । फुनपाका वीरेन्द्र माध्यमिक बिद्यालय र दुर्गम क्षेत्र आधारभूत बिद्यालय प्रत्येकले ४–४ कोठे भवन निर्माणका लागि समान ५५ लाख रुपैंया अनुदान पाउने छन् । यस्तै फुनपाकै मेवाराजा आधारभूत बिद्यालय र शिव आधारभुत बिद्यालय प्रत्येकले २ कोठे भवन निर्माणका लागि समान २७ लाख ५० हजार रुपैंया अनुदान पाउँदा सिद्धकाली माध्यमिक बिद्यालयले आइसिटीका लागि ६ लाख ५० हजार रुपैंया अनुदान पाउने भएको छ ।

उता आठराइ त्रिबेणी गाउँपालिकाका ४ वटा बिद्यालयले अनुदान पाएका छन् । जस अनुसार आम्बोटे आधारभूत बिद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख र जनकल्याण आधारभुत बिद्यालयले २ कोठे भवन निर्माणका लागि रुपैंया अनुदान पाउँदा सरस्वती आधारभूत बिद्यालय र सिरिजङ्गा आधारभूत बिद्यालय प्रत्येकले आईसिटीका लागि समान ६ लाख ५० हजार रुपैंयाका दरले अनुदान पाउने छन् ।

मैवाखोला गाउँपालिकाका २ वटा बिद्यालयले अनुदान पाउने भएका छन् । मैवाखोला माध्यमिक बिद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख र पार्टीडाँडा माध्यमिक बिद्यालयले २ कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार अनुदान पाउने भएका छन् ।

मेरिङ्देन गाउँपालिकाका ४ वटा बिद्यालयले अनुदान पाउने भएका छन् । पृथ्वी माध्यमिक बिद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख तथा राजारानी आधारभूत बिद्यालय र जनज्योति आधारभूत बिद्यालय प्रत्येकले २–२ कोठे भवन निर्माणका लागि समान २७ लाख ५० हजार रुपैंयाका दरले अनुदान पाउने भएका छन् । मेरिङदेनकै सुर्के माध्यमिक बिद्यालयले आईसिटीका लागि ६ लाख ५० हजार रुपैंयाअनुदान पाउने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts