यसबर्षको मेयरकप आउँदो असोज ८ गतेबाट सुरुहुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । आउँदो असोज ८ गते देखि ११ गते सम्म ताप्लेजुङमा अन्तरपालिका स्तरीय रनिङ मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर फुङलिङ नगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवम् खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो । प्रतियोगितामा ताप्लेजुङ जिल्लाभरीका पालिकाहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सहभागी हुने पालिकाहरुले पालिकाको आधिकारिक पत्रमा खेलाडीको नाम तथा आवश्यक कागजातहरु प्रमाणित गरी असोज २ गते भित्र फुङलिङ नगर कार्यपालिकामा पठाईसक्नुपर्ने हुन्छ । पालिकाहरुले सहभागिताका लागि पठाएको पत्र र कागजातका आधारमा खेल तालिका तय गरिने नगरपालिकाका कर्मचारी बसन्तराज सुनुवारले जानकारी दिनुभयो । खेलाडीलाई आफ्नो परिचय खुल्ने गरी नागरिकता वा अन्य कुनै कागजातको प्रतिलिपि अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख ७५ हजार १ सय रुपैंयाका साथ रनिङ कप,मेडल र प्रमाणपत्र पाउने छ । द्धीतीय हुनेले नगद १ लाख ४० हजार १ सय रुपैंया पाउने छ । सेमीफाईनलिष्ट दुईटिमलाई तृतीय पुरस्कार स्वरुप प्रतिटीम नगद ४५ हजार १ सय रुपैंयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । अरु बेला फागुन देखि बैशाख सम्ममा हुने मेयर कप भलिबल यसबर्ष पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवकै बेला हुन लागेको हो । असोज ११ गते देखि १३ गते सम्म ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुदैंछ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्म संयुक्त आयोजक रहेका छन् । म्याराथनको मुख्य प्रायोजक भने हिमालयन् गाईड्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौ रहेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङ्देवामा जन्मिनु भएका पर्यटन व्यवसायी ईश्वरी पौडेलले म्याराथन तथा महोत्सव सुरुआतको बर्ष २०६५ साल देखि नै मुख्य प्रायोजकको जिम्मेवारी लिइरहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts