| |

ताप्लेजुङबाट राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष पालुङ्वासहितको नाम सिफारिस

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २७ ।
राष्ट्रिय जनमुक्ति पार्टी ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले ताप्लेजुङबाट केन्द्रीय अध्यक्ष केपी पालुङ्वासहितको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।
सदरमुकाम फुङ्लिङमा आइतबार साँझ पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमुक्ति पार्टी ताप्लेजुङले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रीय अध्यक्ष केपी पालुङ्वा र जिल्ला अध्यक्ष इन्द्र थलङ लिम्बूको नाम सिफारिस गरेका जनाएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ आइतराज लिम्बू र चित्रकुमारी लिम्बूको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ (क) बाट प्रत्यक्षमा मोतिलाल तुम्बाहाम्फे र बलबहादुर लिम्बू तथा निर्वाचन क्षेत्र १ (ख) मा यामकुमार आङ्बुहाङ र इन्द्रमान लिम्बूको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष थलङले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदेशसभाको समानुपातिकतर्फ (क) बाट देवीमाया लिम्बू र (ख) बाट सूर्य माबो लिम्बूको नाम सिफारिस भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले देवीमाया लिम्बूको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन समिति निर्माण गरेकोसमेत जानकारी गराएको छ । पत्रकार सम्मेलनमा सहभागी केन्द्रीय अध्यक्ष पालुङ्वाले प्रतिनिधिसभा सदस्यका लागि देशभर कम्तीमा ११० स्थानमा उम्मेदवारी दिने तयारी रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो नाम ताप्लेजुङसहित इलामको निर्वाचन क्षेत्र नं. २, सुनसरीको क्षेत्र नं. १ बाट सिफारिस भएको र तनुहँको क्षेत्र नं. १ बाट पनि सिफारिसका लागि प्रस्ताव आएको बताउनुभयो ।
यता ताप्लेजुङबाट राष्ट्रिय जनमुक्ति पार्टीसहित नौवटा दलले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । यसअघि जिल्लाबाट उम्मेदवार सिफारिस गर्ने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) रहेका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपाल, संघीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल समाजवादी पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन् ।

Similar Posts