‘घरेलु मदिरा (रक्सी) को प्रवर्द्धन आवश्यक’

–प्रयास लिम्बू
ताप्लेजुङ, भदौ १६ । प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले घरेलु रक्सी (मदिरा) को प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । आम्दानी वृद्धिसँगै आर्थिक समृद्धिका लागि घरेलु रक्सीको प्रवर्द्धन आवश्यक भएको मन्त्रीहाङगामले बताउनुभयो ।
सदरमुकाम फुङ्लिङमा बिहीबार आयोजित एक कार्यक्रममा प्रदेश मन्त्री हाङगामले घरेलु रक्सीलाई ब्राण्ड बनाई प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो । परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति नामक संस्थाले आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री हाङगामले घरेलु रक्सीलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनेगरी आफूले पहल गरिरहेको बताउनुभयो ।
घरेलु मदिरालाई ब्राण्ड बनाई प्रवर्द्धन गर्नका लागि सांसद हुँदैदेखि पहल गर्दै आएको उहाँले बताउनुभयो । आफू मन्त्री भएपछि पनि पहिलो प्राथमिकता दिँदै घरेलु रक्सी (मदिरा) लाई ब्राण्डिङ गर्न र प्रवर्द्धनका लागि जोड दिँदै आएको उहाँले बताउनुभयो । घरेलु रक्सीको ब्राण्डिङ र प्रवर्द्धन गर्ने विषयमा संघीय सरकारका श्रम तथा रोजगारमन्त्रीसँग पनि आफूले भेटेरै कुरा गरेको उहाँको भनाइ छ ।
संघीय मन्त्रीसँगको सम्पर्कपछि प्रदेश सरकारमा आफूले घरेलु रक्सीलाई ब्राण्ड बनाउने योजनालाई अघि बढाएको उहाँले बताउनुभयो । कार्यक्रममा परम्परागत मदिरा प्रवर्द्धन समितिलाई सबै पक्षलाई समेटेर आफ्नो अभियानलाई अघि बढाउन सुझाव दिँदै मन्त्री हाङगामले आफूले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले घरेलु मदिरालाई ब्राण्ड बनाई प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारले नीति निर्माणको प्रक्रिया सुरु गरिसकेको बताउनुभयो ।
यता कार्यक्रममा समितिका संयोजक टेकबहादुर खजुमले परम्परागत मदिरालाई प्रदेश १ कै ब्राण्ड बनाउनेगरी अभियानको सुरुवात गरेको बताउनुभयो । खजुमले प्रदेश १ का विभिन्न जिल्लामा पुगेर छलफल, अन्तर्क्रियाजस्ता गतिविधि गरिरहेको र स्थानीयले दिएको सुझावलाईसमेत समेटेर आफूहरु घरेलु कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने कार्यका लागि थप योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति बुद्धिजीवी फाँटका संयोजक देशु वनेमले घरेलु रक्सीसम्बन्धी प्रारम्भिक अवधारणपत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणपत्र प्रस्तुत गर्नुहुँदै वनेमले घरेलु मदिराको उत्पादन तथा प्रवर्द्धनका लागि सरकारी नीति नहुँदा कच्चा पदार्थको रुपमा प्रयोग हुने कोदो लगायतका अन्न तथा मदिरा उत्पादकले आम्दानी गुमाइरहनुपरेको बताउनुभयो ।
यसैबीच ताप्लेजुङमा पनि इन्दिरा मेन्याङ्बो अध्यक्ष र पदम चेँजी माबो लिम्बू सदस्य–सचिव रहेको १९ सदस्यीय जिल्लास्तरीय परम्परागत मदिरा प्रवर्द्धन समिति गठन भएको छ । ताप्लेजुङसहित प्रदेश १ को आठवटा जिल्लामा जिल्लास्तरीय समिति निर्माण भइसकेको पनि समितिकी सदस्य सरस्वता सिंघक (सरु) ले जानकारी दिनुभयो ।