|

दलको सदस्य भएको व्यक्ति निर्वाचन पर्यवेक्षक बन्न नपाउने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १६ । कुनैपनि राजनीतिक दलको सदस्य भएको व्यक्तिले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पर्यवेक्षकको भूमिका निर्वाह गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका २०७९ जारी गर्दै पर्यवेक्षकका लागि ६ वटा योग्यता निर्धारण गरेको छ । जस अनुसार पर्यवेक्षक २१ बर्ष पूरा भएको हुनुपर्ने,प्रवीणता प्रमाणपत्र तह वा दशजोड दुई वा सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्ने र कुनैपनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने न्यूनतम् योग्यता निर्धारण गरेको छ । यस्तै भ्रष्टाचार,जबरजस्ती करणी,मानव बेचबिखन तथा ओसारपसार,लागु औषध बिक्री बितरण तथा निकासी वा पैठारी,सम्पत्ति शुद्धीकरण,राहदानी दुरुपयोग,अपहरण सम्वन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको र निर्वाचन सम्वन्धी कसुर वा निर्वाचन आचार संहिता उल्लंघनमा सजाय नपाएको व्यक्ति मात्र पर्यवेक्षक बन्न पाउने भएका छन् ।

पर्यवेक्षण गर्न चाहने राष्ट्रिय वा अन्तराष्ट्रिय संस्थाले निर्वाचन आयोगबाट अनुमति लिनुपर्ने प्रावधान रहेको छ । आयोगले संस्थाका अलवा व्यक्तिलाई समेत पर्यवेक्षणका लागि अनुमति दिन सक्ने भएको छ । निश्चित प्रकृया र मापदण्ड पूरा गरेर पर्यवेक्षणका लागि अनुमति पाउने व्यक्तिले पर्यवेक्षकका लागि तोकिएको आचार संहिता र तोकिएको सर्तको अनिवार्य पालना गर्नुपर्ने भएको छ । पर्यवेक्षकले आचार संहिता उल्लंघन गरेमा मतदान अधिकृतले त्यस्तो पर्यवेक्षकलाई पर्यवेक्षण गर्न रोक लगाई निजलाई दिएको परिचयपत्र खिची सोको जानकारी निर्वाचन अधिकृतलाई गराउन सक्ने अधिकार दिईएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts