प्रतिनिधि र प्रदेशसभा निर्वाचन ः गठबन्धन दलहरुभित्रै बढी सिटमा अपेक्षा,एमालेमा पनि छैन एकमत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको दिनगन्ती सुरु भएका बेला हिमाली जिल्ला ताप्लेजुङका मुख्य दलहरुबाट उम्मेदवार को हुन्छन् भन्ने बिषय ब्यापक हुँदा गठबन्धन दलहरुले बढी सिटमा अपेक्षा गर्न थालेका छन् । उम्मेदवारी बारे एमालेमा पनि एकमत देखिएको छैन ।


गठबन्धन दलहरुमध्ये जनता समाजवादी पार्टीले चुनावी एकताको बिषय जिल्ला तहलाई सुम्पिएको छ भने नेकपा एसले प्रतिनिधिसभा र प्रदेशसभा दुबैका लागि पार्टीकातर्फबाट उम्मेदवार बन्नेको नाम सिफारिस गरिसकेको छ ।‘चुनावी तालमेलबारेको जिल्लागत निर्णय सम्वन्धित जिल्ला तहको कमिटीले पनि निर्धारण गर्ने छ’पारिवारिक कामले ताप्लेजुङमा रहेका जसपाका संघीय परिषद् अध्यक्ष अशोककुमार राईले भन्नुभयो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा गठबन्धनमा सामेल थिएन । जिल्ला अध्यक्ष कीर्तिमान मादेन गठबन्धन पक्षधर मुख्य दल काँग्रेस र माओवादीले आफुहरुको जनमतलाई अपब्याख्या गरेको बताउनहुुन्छ ।‘एक हिसावले उहाँहरुमा हामीहरु बाहेक कोहि नै होईनौं भन्ने प्रवृति पनि देखिन्छ‘मादेनले भन्नुभयो । गठबन्धन दलहरुबीचबाट चुनावी मोर्चा र छलफलका लागि आफुहरुलाई अहिले सम्म कुनै सोधनी र प्रस्ताव नआएको मादेनले बताउनुभयो । नेकपा एकिकृत समाजवादी भने स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीसंग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो ।


आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन गर्दा नेपाली काँग्रेस र माओवादी केन्द्र दुबैले प्रतिनिधिसभाको सिट आफ्नो भागमा पर्ने अनुमान लगाएका छन् । प्रतिनिधिसभा वा प्रदेशसभा जता परेपनि काँग्रेसको भागमा दुई र माओवादीको भागमा एकसिट पर्ने अनुमान गरिएको छ । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र बामगठबन्धन बनाएर चुनावी मोर्चामा सामेल हुँदा एमालेले प्रतिनिधिसभा सहित प्रदेशसभाको एकसिट र तथा माओवादीले प्रदेशसभाको एकसिटमा उम्मेदवारी दिने मौका पाएका थिए । ताप्लेजुङ जिल्ला प्रतिनिधिसभामा सिङ्गो एकसिट हो भने र प्रदेशसभामा १(क) र १ (ख) गरी दुईसिट रहेका छन् । गठबन्धनबाट माओवादीले प्रतिनिधिसभाको सिट पाए काँग्रेसले प्रदेशसभाका दुईसिट पाउने अनुमान गरिएको छ । गठबन्धन दल नेकपा एस र जसपा दुबैलाई साथमा लिएर जानका लागि काँग्रेस र माओवादीले कस्तो त्याग गर्ने हुन् भन्ने निक्र्यौल छैन ।

आफ्ना उम्मेदवार नै सिफारिस गरेर नेकपा एसले गठबन्धन पक्षधर प्रमुख दुईदल काँग्रेस र माआवादीबाट आगामी चुनावको सहकार्य बारे प्रतिक्रिया बुझ्न खोजेको देखिन्छ । जिल्ला अध्यक्ष छिरिङ लामा प्रतिनिधि र प्रदेशसभाका तीनसिट मध्ये कुनै एकसिटमा आफ्नो दावी कायम रहने बताउनुहुन्छ । ‘स्थानीय तहको निर्वाचनमा गरिएको पदीय भागबण्डालाई आधार मानेर अब उनीहरुलाई आगामी निर्वाचनमा केहि हुन्न भनेर बुझ्न हुन्न’लामाले भन्नुभयो । उतिबेला जिल्ला समन्वय समिति उपप्रमुख मात्र नेकपा एसलाई भागबण्डा गरिएकोमा माओवादी केन्द्रको आन्तरिक बिबादले नेकपा एसलाई जिसस प्रमुख नै ‘हात’ लागेपछि काँग्रेस र माओवादीले नेकपा एसले आउँदो चुनावमा यहाँ सिटमा दावी नगर्ने बुझाई राखेका छन् ।

जिसस प्रमुख समेत रहनु भएका नेकपा एसका जिल्ला अध्यक्ष लामाले भने काँग्रेस र माओवादीको त्यो बुझाई‘गलत’भन्नु भएको छ । गठबन्धन दलले संगै सहयात्राका लागि प्रस्ताव गरे जसपाले पनि एकसिटमा दावी राख्ने बुझिएको छ ।‘अहिले सम्म छलफल नै नभएकोले यो बिषयमा केहि भनिएको छैन’जसपा अध्यक्ष मादेनले बताउनुभयो । जसपाबाट अलग भएपछि जसपाका तत्कालिन जिल्ला सचिव दुर्गाप्रसाद न्यौपाने सहितका नेताहरु भने बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीमा लाग्नु भएको छ ।


काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको दुईमध्ये एउटा क्षेत्र आफ्नो भागमा पर्ने अनुमान गरेको छ । काँग्रेस महाधिबेशन प्रतिनिधि तथा सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम प्रतिनिधिसभा र प्रदेशसभाको दुईमध्ये एउटा क्षेत्र आफ्नो भागमा पर्ने बताउनुहुन्छ । ‘संघ हाम्रैमा पर्छ भन्ने लाग्या छ’प्रतिनिधिसभामा यहाँबाट आफ्नो दावेदारी प्रस्तुत गर्दै गुरुङले भने । यसअघि समानुपातिकबाट प्रदेशसभामा सांसद भएका प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारी मन्त्री प्रतापप्रकाश हाङ्गाम,जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,पूर्व सभापति लिलादेवी बोखिम र केशवप्रसाद दाहाल र बलबहादुर तामाङ समेतको नाम प्रतिनिधिसभाका लागि चर्चामा रहेको छ । गुरुङ र तुम्याहाङ ले प्रदेशसभा मात्र परेपनि प्रदेश १(क)बाट आफ्नो सशक्त दाबेदारी रहने बताउनु भएको छ ।

प्रत्यक्षमा चुनाव लड्ने महिलाको संख्या कमैमात्र हुने भएकोले आफुले टिकट पाउने दावी बोखिमको छ । प्रदेशसभा १(ख)मा भने खगेनसिंह हाङ्गाम,ईन्द्र केदेम लगायतले दावी गर्नु भएको छ छ । प्रतिनिधिसभामा नअटाए तामाङले प्रदेशसभा १(ख) मा दावी गर्न सक्ने अनुमान गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री ‘पराग’प्रतिनिधिसभाको सिट माआवादीको भागमा पर्नेमा बिश्वस्त हुनुहुन्छ । प्रदेश १ को भूगोल र पदीय भागबण्डाको प्रारम्भिक अवस्थाले माओवादीले यहाँको प्रतिनिधिसभाको सिट आफ्नो पक्षमा पर्ने अनुमान गरेको हो । प्रदेशसभा १(क) नै परेको खण्डमा पनि बुढाक्षेत्री आफैं अघि सर्ने पक्षमा हुनुहुन्छ । प्रदेशसभा १(ख)मा माओवादीको भागमा परेमा मिङ्माडण्डु शेर्पा,लक्ष्मीप्रसाद अन्छङ्वो लगायतको नाम चर्चामा रहेको छ ।


उता नेकपा एमाले भित्र चुनावमा उठ्न उत्तिकै रस्साकस्सी चलेको छ । प्रतिनिधिसभामा एमाले सचिव तथा बर्तमान सांसद योगेशकुमार भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङनै हुने भन्दै आफ्नो दावीलाई ‘स्वभाविक’भन्नु भएको छ । लामो समयदेखि भूगोलमा राजनीति गरेकोले प्रत्यक्षतर्फको निर्वाचनमा आफु उम्मेदवार बन्न पाउनुपर्ने भन्दै पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोले‘एकपटक’का लागि भन्दै प्रतिनिधिसभामा आफु उम्मेदवार बन्ने बताउनु भएको छ ।

केन्द्रीय सदस्य पासाङ शेर्पाले पनि आफ्नो उम्मेदवारी प्रतिनिधिसभातर्फ नै रहने भन्नु भएको छ । प्रतिनिधिसभामा टिकट पाए प्रदेश कमिटी सदस्य डम्बरध्वोज तुम्बाहाम्फे पनि उम्मेदवार बन्ने दौडमा हुनुहुन्छ । केन्द्रीय सदस्य तथा जिल्ला सहईञ्चार्ज उर्मिला थेबे र जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले उम्मेदवारी बारे सार्वजनिक अभिव्यक्ति नदिएपनि थेबे दम्पतिमध्ये एकजना संसदीय मोर्चामा जाने गरी आन्तरिक तयारीमा लागेको बुझिएको छ ।


प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले आफु उम्मेदवार बनेर अघि सर्ने बारे आफ्ना निटकस्थहरुसंग छलफल चलाइ रहनु भएको छ । प्रदेशसभा १ (क)मा साम्सोहाङका अलवा अनन्त साँवा,सन्तोष खतिवडा र तारानाथ घिमिरे सहितको नाम चर्चामा छ । प्रदेशसभा १(ख)बाट जिल्ला उपसचिव मणिशंकर पोमू,पूर्व जिल्ला उपसचिव गोपाल थोप्रा सहितले आकाँक्षा जनाउनु भएको छ । हरि थलङ र इन्द्र शेर्पा समेतले समाजिक सञ्जालमा आफुहरु उम्मेदवार बन्न चाहिरहेको बताउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts