अब फुङलिङका होटलमा क्याबिन राख्न नपाइने,भएका क्याबिन पनि तत्काल हटाउनुपर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ७ । अब ताप्लेजुङको फुङलिङ नगरपालिका भित्र सञ्चालनमा रहेका होटलहरुमा क्याबिन राख्न नपाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अध्यक्षतामा मंगलवार बसेको सुरक्षा निकायका प्रमुख र होटल व्यवसायीका प्रतिनिधि सहितको सरोकारवारवालाको बैठकले अब क्याबिन नराख्ने र भएका क्याबिनलाई तत्काल समेत हटाउने निर्णय गरेको छ । मंगलवारको बैठकमा सबैभन्दा बढी फुङलिङ नगरपालिका वडा नं ७ कफी हाउस लाइन क्षेत्रका होटल व्यवसायलक्षित छलफल भएको थियो ।

बैठकले मदिराको बिक्रीबितरण गर्न अनुमति नलिई सञ्चालनमा रहेका होटल व्यवसायीहरुलाई सम्वन्धित निकायबाट अनुमति लिई सञ्चालन हुन ७ दिनको समयसीमा(अल्टिमेटम) दिएको छ । समयसीमा भित्र अनुमति नलिए मदिराजन्य पदार्थको बिक्रीबितरण गर्न नपाइने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

बैठकले (नाबालक)बालबालिकाहरुलाई मदिराजन्य पदार्थको बिक्री बितरणमा प्रयोग नगर्ने नगराउने निर्णय समेत लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले सुरक्षा सम्बेदनशिलतालाई ध्यानमा राख्दै उक्त निर्णय लिईएको र निर्णय कार्यान्वयनमा सम्वन्धित सबै पक्षले सम्बेदनशिल हुने बिश्वास लिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts