प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङमा मतदाताको संख्या ९० हजार ६४०
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । ताप्लेजुङमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाताको संख्या ९० हजार ६ सय ४० पुगेको छ । यो अद्यावधिक हुनु भन्दा अघिको संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अद्यावधिकका लागि आयोगले समय तालिका निर्धारण गरिसकेको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पछिल्लो तथ्याङ्कमा पुरुष मतदाताको संख्या महिलाको तुलनामा झण्डै ६ हजार बढी रहेको छ । उहाँका अनुसार ४८ हजार २ सय १८ जना पुरुष मतदाता हुँदा ४२ हजार ४ सय २२ जना महिला मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८९ हजार ६ सय ८० जना मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचन पछि निर्वाचन आयोगले असार १ गते देखि साउन १९ गते सम्म मतदाता नामावली दर्ता तथा संकलन कार्य गरेको थियो । सो क्रममा १ हजार ८० जनाले नाम दर्ता गरेका थिए भने ति मध्ये ३ सय ६ जनाले मतदान केन्द्र भने अन्य जिल्ला कायम हुने गरी यहाँबाट नाम दर्ता गरेका थिए । निर्वाचन आयोगले चुनावको अघिल्लो दिन मंसिर ३ गते सम्ममा १८ बर्ष पूरा भएको व्यक्तिलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि वालिग मताधिकार योग्य ठानेको छ ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा २६ हजार २ सय २२ पुरुष र २३ हजार ५ सय ६७ महिला गरी ४९ हजार ७ सय ८९ र १(ख)मा ४० हजार ८ सय ५१ मतदाता भएका छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)मा २१ हजार ९ सय ९९ पुरुष र १८ हजार ८ सय ५५ महिला गरी कूल ४० हजार ८ सय ५१ जना मतदाता कायम भएका छन् । २०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार ६० हजार ५ सय २४ पुरुष र ८ सय ३५ महिला गरी ताप्लेजुङको कूल जनसंख्या १ लाख २० हजार ३ सय ५९ रहेको छ । जनसंख्याको तुलनामा २९ हजार ७ सय १९ जना मात्र कम मतदाता देखिएका छन् । मृत्यु भएका मतदाताको संख्या हटाउनुपर्ने सहितका मागहरु उठ्ने गरेपनि यस्तो संख्या कमैमात्र हट्ने गरेको पाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी खनाल आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावलीलाई अन्तिम रुप दिन मतदाता नामावली अद्यावधिक(दावी बिरोध समेत)को कार्यक्रमका लागि सर्वदलिय सर्वपक्षिय छलफलमा जुटेको बताउनुहुन्छ । उहाँका अनुसार बुधवार जिल्ला निर्वाचन समन्वय समितिले फुङलिङमा यस्तो छलफल कार्यक्रम राखेको छ । प्रमुख जिल्ला अधिकारी जिल्ला निर्वाचन समन्वय समितिको अध्यक्ष हुने व्यवस्था रहेको छ । अद्यावधिक(मतदाता नामावलीमा दावी बिरोध)समेतका कार्यक्रम सकिएपछि मात्र मतदाता नामावलीको अन्तिम तथ्याङ्क आउने खनालले जानकारी दिनुभयो ।
२०७४ सालमा प्रतिनिधिसभातर्फ ७८ हजार ३ सय ९७ मतदातामध्ये ५१ हजार ६ सय ७८ मत खसेकोमा २ हजार ३ सय ३३ बदर भई ४९ हजार ३ सय ४५ मत सदर भएको थियो । प्रदेशसभा १(क)को प्रत्यक्षतर्फ कूल मतदाता संख्या ४३ हजार ५ सय ३६ रहेकोमा २८ हजार ९ सय ४७ मत खसेको थियो । त्यसमध्ये १ हजार ८३ मत बदर भई २७ हजार ८ सय ८३ मत सदर भएको थियो । प्रदेशसभा १(ख)को प्रत्यक्षतर्फ ३४ हजार ८ सय ६१ कूल मतदातामध्ये २२ हजार ६ सय ९४ मत खसेकोमा १ हजार २ सय ३ मत बदर भई २१ हजार ४ सय ९१ मत सदर भएको थियो ।