उपसमितिलाई पूर्णता दिई महोत्सव सम्वन्धी गतिविधि तीव्र बनाउने पाथीभरा महोत्सव सचिवालय समितिको निश्कर्ष

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । आउँदो असोज ११ गतेबाट ताप्लेजुङमा सञ्चालन हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव सचिवालय समितिले उपसमितिलाई पूर्णता दिई महोत्सव सम्वन्धी क्रियाकलापलाई तीव्र बनाउने निश्कर्ष निकालेको छ ।

शुक्रवार बसेको सचिवालय समितिको बैठकले उपसमितिलाई पूर्णता दिन सम्वन्धित उपसमितिका संयोजकसंगको परार्मशमा यशाशीघ्र सचिवालय र उपसमितिका संयोजकहरुको संयुक्त छलफल चलाउने निश्कर्ष निकालेको मूल समारोह समितिका सदस्य सचिव रणबहादुर कार्कीले जानकारी दिनुभयो ।‘उप समितिका संयोजक ज्युहरुको परार्मशमा बैठक राखी उपसमितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छौं’उहाँले भन्नुभयो । उपसमितिका संयोजकको आवहानमा बस्ने बैठकले आ–आफ्ना उपसमितिहरुलाई पूर्णता दिई दायित्व अनुसारको जिम्मेवारी पूरा गर्न अग्रसर गराउने सचिवालय समितिको निश्कर्ष छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा ७ सय १ सदस्यीय मूल समारोह समिति गठन भएको र मूल समारोह समितिको तर्फबाट हुने कार्य सम्पादनका लागि ५६ सदस्यीय सचिवालय बनाइएको छ । अधिकाँस समितिका पदाधिकारी तथा सदस्य भित्रैबाट समितिका संयोजक तोकिएको महोत्सव मूल आयोजक समितिका सचिवालय सदस्य लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

महोत्सव तयारी सम्वन्धी यसअघि भएको प्रारम्भिक छलफलकै क्रममा २७ वटा उपसमितिमार्फत कार्य हुने गरी उपसमितिका संयोजक र सहसंयोजकको जिम्मेवारी तोकिएको थियो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र ताप्लेजुङस्थित नेपाली सेनाको भीमकाली गुल्म तीनवटै आयोजक निकाय रहेका छन् । साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव तथा म्याराथन यसबर्ष सो भन्दा केहि महिना अघि असोज दोस्रो सातामै हुन लागेको हो । कोरोना सन्त्रासका कारण २०७६ साल फागुनमा भएको महोत्सव पछि महोत्सवको अर्को संस्करण सञ्चालन हुन सकेको थियो । महोत्सव मूल आयोजक समितिका सचिवालय सदस्य सुरेश लिम्बूले पाथीभराको महिमा र गरिमासंग जोडिएको महोत्सव देशकै गर्वको बिषय भएकोले यसको सफलताका लागि सबैको सहयोग र सक्रियता रहनुपर्ने बताउनुभयो ।

मूल आयोजक समितिका सहसंयोजक एवम् पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार ६ जनाको संरक्षक समिति बनाइएको छ भने २५ जनाको सल्लाहकार समिति बनाइएको छ । संरक्षक समितिमा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराई तथा प्रदेश सरकारका मन्त्री प्रतापकाश हाङ्गाम,राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे,सांसदद्धय बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका पूर्व अध्यक्ष डिल्लीजंग मादेन रहनु भएको छ ।

सल्लाहकार समितिमा यहाँका क्रियाशिल सबै राजनीतिक दलका प्रमुखहरु,जिसस प्रमुख छिरिङ लामा,फुङलिङ नगरपालिका प्रमुख र अन्य ८ वटा गाउँपालिकाका अध्यक्षहरु,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहित सुरक्षा निकायका प्रमुखहरु,ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौ,ताप्लेजुङ समाज काठमाण्डौ,ताप्लेजुङ सरोकार केन्द्र सुनसरी र ताप्लेजुङ सरोकार केन्द्र झापाका प्रमुख तथा प्रतिनिधि रहनु भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts