असोज ११ गतेबाट ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवमा ६५ लाख खर्च हुने अनुमान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । आउँदो असोज ११ गतेबाट ताप्लेजुङमा हुने पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका कार्यक्रम सञ्चालनका लागि करिव ६५ लाख रुपैंया खर्च हुने अनुमान आयोजकले गरेका छन् ।
२५ शीर्षकका कार्यक्रममा लागत प्रस्ताव तयार पार्दै आयोजकले महोत्सवको तयारी र लागत अनुमान रकम संकलन कार्यलाई एकसाथ अघि बढाएको जनाएका छन् । मूल आयोजक समितिका सचिवालय सदस्य एवम् पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेका अनुसार महोत्सवकै बेला मेयर कप अन्तरपालिका भलिबल तथा खुल्ला बुद्धिचाल प्रतियोगिता समेत सञ्चालन हुने छ । काफ्लेका अनुसार महोत्सकै बेला कृषि तथा औद्योगिक मेला प्रर्दशनी,बिभिन्न जातिका खाद्य परिकार महोत्सव,लोक साँस्कृतिक कार्यक्रम,बिभिन्न पर्यटकिय स्थलहरुको अवलोकन भ्रमण(सशुल्क),प्याराग्लाईडिङ,डोरी तान्ने खेल,पिलो फाइट,अन्य बिभिन्न साँस्कृतिक कार्यक्रम,सांगितिक साँझ सहितका कार्यक्रम तय भएका छन् । यसबाहेक साविक झैं बिभिन्न शक्तिपीठ तथा मठमन्दिर तथा गुम्बाहरुको सफाई तथा पुजा अर्चना,कलशयात्रा,बिभिन्न जातिय झाँकी प्रदर्शनी,ताप्लेजुङ सहित पूर्वी नेपालका बिभिन्न पर्यटकिय क्षेत्र समेटिएको बृत्रचित्र प्रदर्शनी सहितका कार्यक्रम तय भएका छन् ।
असोज ११ गते देखि १३ गते सम्म हुने महोत्सवको तेस्रो तथा आखिरी दिन असोज १३ गते खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन प्रतियोगिता हुने छ । खुल्ला म्याराथन फुङलिङस्थित तोक्मेडाँडाबाट सुरु भई ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिर पुगेर पुनःतोक्मेडाँडा फर्किएपछि पूरा हुने छ भने महिला हाफ म्याराथनको दुरी भने तोक्मेडाँडाबाट सुरु भई काफ्लेपाटी पुुगेर पुनःतोक्मेडाँडा सम्म आइपुग्नेगरीकोलाई तोकिएका छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति,पाथीभरा क्षेत्र विकास समिति र ताप्लेजुङस्थित नेपाली सेनाको भीमकाली गुल्म तीनवटै आयोजक निकाय रहने छन् । साविकमा महाशिवरात्री तथा सेना दिवसको अवसरमा हुने महोत्सव तथा म्याराथन यसबर्ष सो भन्दा केहि महिना अघि असोज दोस्रो सातामै हुने भएको हो । कोरोना सन्त्रासका कारण २०७६ साल फागुनमा भएको महोत्सव पछि महोत्सवको अर्को संस्करण सञ्चालन हुन सकेको थियो । महोत्सव मूल आयोजक समितिका सचिवालय सदस्य सुरेश लिम्बूले पाथीभराको महिमा र गरिमासंग जोडिएको महोत्सव देशकै गर्वको बिषय भएकोले यसको सफलताका लागि सबैको सहयोग र सक्रियता रहनुपर्ने बताउनुभयो ।
बिगतमा भएको महोत्सवका बेला रंगिएको बजारको एक दृश्य ः फायल फोटो