स्थापना दिवसमा फोनिज ताप्लेजुङद्धारा कैदीबन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) ताप्लेजुङले २३ औं स्थापना दिवसको अवसर पारेर जिल्ला कारागारका कैदी बन्दीलाई जीवन उपयोगी पुस्तक हस्तान्तरण गरेको छ ।

१३ थान आफुले खरिद गरेको र ९ थान पुस्तक फुङलिङस्थित जनकल्याण स्टेशसनरीबाट सहयोग प्राप्त भई जम्मा २२ थान पुस्तक कैदीबन्दीका लागि हस्तान्तरण गरिएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङखिमले जानकारी दिनुभयो । जनकल्याण स्टेशसनरीका प्रोपाइटर केशवप्रसाद भट्टराई पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । कारागारका चौकीदार ध्रुवकुमार देवानलाई कैदी बन्दीका लागि जीवन उपयोगी पुस्तक हस्तान्तरण गर्दै प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले कारागार सुधार गृहको रुपमा रहनुपर्ने बताउनुभयो । करिव ४ पटक सम्म राजनीतिक बन्दीका रुपमा आफुपनि जेल परेको स्मरण गर्दै भट्टराईले जेल जीवनलाई अध्ययन र आफ्नो व्यक्तित्व सुधारको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । कुनै न कुनै कमजोरी वा अभियोगका कारण जेल जीवन भोग्नुपरेपनि जेल जीवनलाई आफ्नो कमजोरी सुधारको अभियान बनाउन जीवन उपयोगी पुस्तकको अध्ययन सान्र्दभिक हुने भट्टराईले बताउनुभयो । कैदीबन्दीलाई’खुल्ला जेल’को अवधारणामा लगि कुनै निश्चित सीमा र सुरक्षा भित्र कैदी बन्दीको सीप र श्रम उपयोग हुने गर्ने वातावरणका लागि संसदमा कुरा उठाएको भट्टराईको भनाई थियो । उहाँले कैदीबन्दीलाई प्रजनन् अधिकार प्रदान गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

२०७६ सालमा भट्टराईको सहयोग र समन्वयमा जिल्ला प्रहरी कार्यालय परिसरमा पुस्तकालय स्थापना भएको छ । कारागारका चौकीदार देवानले अनुसार पुस्तक अध्ययन गर्न चाहनेका लागि कारागार प्रशासनले अभिलेख व्यवस्थापन गर्ने र सोहि अनुसार पुस्तक प्रदान तथा फिर्ताको प्रकृया सञ्चालन हुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले पुस्तकको अध्ययनले आफ्नो बौद्धिकतमा थप विकास हुने भएकोले कैदीबन्दीका लागि जीवन उपयोगी पुस्तक प्रभावग्राही हुने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)कैलाश राई,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका प्रहरी निरीक्षक कुलबहादुर भण्डारी,कारागार शाखाका प्रमुख कुलेन्द्र खवास लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts