ताप्लेजुङका मुख्य राजनीतिक दलहरुलाई स्थानीय चुनावमा भड्किएको आन्तरिक राजनीति सग्ल्याउनैपर्ने बाध्यता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । आगामी चुनावी नतिजा आफ्नो पक्षमा पार्न ताप्लेजुङका मुख्य राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनका क्रममा भड्किएको आन्तरिक राजनीति सग्ल्याउनैपर्ने बाध्यता देखिएको छ ।

नेकपा एमाले,नेपाली काँग्रेस र माओवादी केन्द्र तीनवटै राजनीतिक दलभित्र आन्तरिक खटपट छ । यहाँको अर्को मुख्य दल जनता समाजवादी पार्टी भित्र देखिएको बिभाजनले त्यो पार्टीका नेता कार्यकर्ता उपेन्द्र यादव र बाबुराम भट्टराईमध्ये कुन कित्तामा बढी उभिन्छन् भन्नेमा पनि भर पर्ने देखिएको छ । जसपाका यहाँका नेता कार्यकर्ताहरु यादव र भट्टराई कुन कित्तामा उभिने भनेर प्रष्ट खुलेका छैनन् । स्थानीय तहको चुनावको मुखैमा पार्टीका आधिकारिक उम्मेदवारहरु बिरुद्ध पत्रकार सम्मेलन गरेर पार्टी बिरोधी गतिविधि गरेको आरोप काँग्रेस र एमालेका केहि नेताहरुले खेपिरहेका छन् । दुबै पार्टीको समान अर्को आन्तरिक बिबाद भनेको स्थानीय तहको निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध बिभिन्न ठाउँमा ‘घात अन्तरघात’को रहेको छ । यो मामलामा काँग्रेसमा बढी बिबाद देखिएको छ । स्थानीय तहकै निर्वाचन प्रकरणमा भने माओवादी भित्रको बिबाद उत्तिकै बलियो बन्दै गएको छ । एमालेमा पनि बिबाद कायम छ ।

पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल,लिलादेवी बोखिम, क्षेत्रीय सभापति लक्ष्मीप्रसाद भट्टराई,जिल्ला सभापतिका प्रत्यासी छबिरमण गुरुङ,नेता दीपेन्द्रकुमार सेन्दाङ सहितको सहभागितामा काँग्रेसको एक पक्षले स्थानीय तहको निर्वाचनको मुखैमा पत्रकार सम्मेलन गरेर स्थानीय तहको टिकट बाँडफाँडमा जिल्लाको नेतृत्व पक्षले‘मनोमानी’गरेको आरोप लगाएको थियो । जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले गठबन्धनको निर्णय बिपरित स्थानीय तहको उम्मेदवार बनेकालाइ पार्टीबाट निष्कासनको निर्णय लिनु भएको थियो भने प्रस्तावक र समर्थक रहेकाहरु माथि अनुशासनको कारवाही लागेको थियो । पत्रकार सम्मेलन गर्ने शीर्ष नेतृत्वलाई अनुशासन समितिले सोधेको स्पष्टीकरण र त्यसपछि बहकिएको राजनीतिक तरंग सहितका प्रकरणले काँग्रेस ताप्लेजुङमा आन्तरिक संघर्ष चुलिएको छ । पत्रकार सम्मेलन गर्ने अधिकाँस संस्थापन इतरपक्ष र स्पष्टीकरण तथा कारवाहीको निर्णय लिने अधिकाँस नेतृत्वपक्ष संस्थापनपक्षधर रहनु भएको छ ।


स्थानीय तहको टिकट बितरण र खासगरी फुङलिङ नगरपालिकामा एमालेकातर्फबाट नगरप्रमुखका प्रत्यासी तथा निवर्तमान नगरप्रमुख छत्रपति प्याकुरेलको उम्मेदवारी निर्णयलाई लिएर एमालेका केहि नेताले गरेको पत्रकार सम्मेलन सहितका प्रकरणले एमालेमा बिबाद छ । यो बाहेक घात र अन्तरघातको आरोप–प्रत्यारोप काँग्रेसमा झैं एमालेमा पनि त्यत्तिकै छ । पार्टीको उपल्लो कमिटीले प्याकुरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेर पठाएपछि जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा,प्रदेश कमिटी सदस्य हेमन्तकुमार उप्रेति र नगर कमिटी अध्यक्ष भरतकुमार गुरुङले पत्रकार सम्मेलन गरेर पार्टीका आधिकारिक उम्मेदवार बिरुद्धको गतिविधि गरेको आरोप खतिवडा,उप्रेति र गुरुङले खेपिरहनु भएको छ । पार्टी हित बिपरित गरेको अभियोगमा कतिपयलाई कारवाही र कतिपयलाई कारवाही सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ । तर, पत्रकार सम्मेलन गर्नेहरुले भने आफ्नो कदमको बचाउ गर्दै अभिव्यक्ति दिइरहनु भएको छ ।

स्थानीय तहको टिकट बितरणबाट अलिअलि गर्दै सल्किएको माओवादी केन्द्रको जिल्लागत द्धन्द जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन सम्म पुग्दा निकै भड्किएको छ । आरोप प्रत्यारोप सहित एकअर्का पक्षबीच विज्ञप्तिवाजी गर्ने माओवादीको आन्तरिक द्धन्द कारवाही र जिम्मेवारी अलग सम्म पुगेको छ । पार्टीको आन्तरिक बिबादले गठबन्धन पक्षको भागबण्डामा परेको जिसस प्रमुख पद समेत माओवादीको भागबाट खुस्किएपछि माओवादी केन्द्रमा बिबाद झनै बढेको हो । स्थानीय तहको निर्वाचनका लागि दिएको टिकटको दुरुपयोग गरी जिसस प्रमुख पदका पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध उम्मेदवारी खडा गर्ने कामको अगुवाई गरेको आरोप लागेका प्रदेश कमिटी सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमलाई कारवाहीका लागि सिफारिस गरिएको छ भने फुङलिङ नगर कमिटी अध्यक्ष तथा नगर कार्यपालिका सदस्य गंगाराम शंकरलाइ माओवादी केन्द्रले जिम्मेवारीबाट हटाईएको छ ।

माओवादी केन्द्रको जिल्ला समन्वय कमिटीले वनेमको अगुवाईमा जिसस प्रमुख पदका पार्टीका आधिकारिक उम्मेदवार मिङ्माडण्डु शेर्पाको उम्मेदवारी दर्ता हुनु अघि नै स्थानीय तहको निर्वाचनका लागि दिएको टिकटको दुरुपयोग गरी शंकरको उम्मेदवारी दर्ता गरेको आरोप लगाएको छ । यहिँ आरोपमा वनेम र शंकरलाई कारवाहीको भागिदार बनाईएको माओवादीले भनेको छ । पछिल्लो समय अखिल क्रान्तिकारीमा देखिएको आन्तरिक बिबाद प्रकरणमा माओवादी केन्द्रका नेताहरु दुईधारमा खुल्नु भएको छ । वनेम सहित लक्ष्मीप्रसाद अन्छङ्वो(आवाज),दावाछिरिङ शेर्पा(बिसालु),ठाकुरसिंह लिम्बू सहितका नेताहरु एकैठाउँमा देखिनु भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका बिरुद्ध उम्मेदवारी दिनु भएका सिदिङ्वा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जीवनकुमार ताम्लिङलाइ पार्टीले उतिबेलै कारवाही गरिसकेको छ । उहाँ अहिले ‘ स्वतन्त्र’जस्तै देखिनु भएको छ । एमालेसंगको सहकार्यमा सिदिङ्वा गाउँपालिकाको उपाध्यक्ष पद दोहो¥याउन खोज्नु भएका उहाँ गठबन्धन पक्षधर माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार कडरिया(बन्दना)संग मात्र १ मतले पराजित हुनुभयो । उहाँ सर्मथक अधिकाँस उम्मेदवार बिजयी हुनुभयो । गठबन्धन पक्षमा नेकपा एसको भाग लागेको मेरिङदेन गाउँपालिकाको उपाध्यक्षमा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नु भएका दावाछिरिङ भने पराजत हुनु भएको थियो । गठबन्धन बिरुद्ध उम्मेदवारी दिएपनि उहाँलाई माओवादी केन्द्रले कारवाही भने गरेको छैन ।

९ स्थानीय तह र ६१ वटै वडा रहेको ताप्लेजुङमा काँग्रेस,माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा चुनावी समिकरण गरेका थिए । गठबन्धन पक्षधरबीच ७ स्थानीय तहको प्रमुख काँग्रेसले र २ माओवादीले पाउने सहमति भएको थियो । काँग्रेसले पाएको ७ मध्ये ३ स्थानीय तहमा एमालेले प्रमुख पद जितेको छ भने काँग्रेसले ४ र भागबण्डामा २ स्थानीय तहको प्रमुख पद पाएको माओवादी केन्द्रले २ स्थानीय तहमै बिजयी प्राप्त गरेको छ । समग्रमा एमाले र काँग्रेसले प्रमुख र उपप्रमुख गरी समान ६–६,माओवादी केन्द्रले ५ र नेकपा एसले १ उपप्रमुख पद जितेको छ । गठबन्धनको भागबण्डामा जिसस प्रमुख माओवादी केन्द्रले र उपप्रमुख नेकपा एसले पाउने सहमति भएपनि माओवादी केन्द्रको आन्तरिक बिबादले जिसस प्रमुख नेकपा एसको हातमा पुगेको छ भने काँग्रेसले उपप्रमुख पाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts