|

स्वास्थ्य क्षेत्रमा सुखद् सन्देश ः ताप्लेजुङमा एकबर्षमा ह्वात्तै घट्यो बालमृत्युदर

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । अघिल्लो बर्षभन्दा ताप्लेजुङमा नवजात शिशुको मृत्युदरमा पछिल्लो एक बर्षमा कमी भएको पाइएको छ ।

आर्थिक बर्ष २०७७।०७८ को तुलनामा २०७८।०७९ मा नवजात शिशुको मृत्युदरमा कमी आएको हो । ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक बिजया राईका अनुसार आव २०७८।०७९ मा ३ जना नवजात शिशुको मृत्यु भएको छ । आव २०७७।०७८ मा भने ११ जना नवजात शिशुको मृत्यु भएको थियो । तर,ताप्लेजुङ जिल्ला अस्पतलमै आएर सुत्केरी भएकाको संख्या भने एकबर्षको अन्तरालमा कमी देखिएको छ । अस्पतालका नर्सिङ निरीक्षक राईका अनुसार आव २०७८।०७९ मा ताप्लेजुङ जिल्ला अस्पतालमा सुत्केरीका क्रममा ४ सय ४२ जनाले नाम दर्ता(भर्नाका लागि आबेदन)गरेकोमा ४ सय ४ जना भने ताप्लेजुङ अस्पतालमै सुत्केरी भए । ३८ जनालाइ थप उपचार सहितको प्रवन्धका लागि रेफर गरिएको थियो ।

आव २०७७।०७८ मा भने ताप्लेजुङ जिल्ला अस्पतालमा आएर ५ सय १७ जना सुत्केरी भएका थिए । सो आवमा अस्पतालमा सुरुमा ५ सय ५३ जना भर्ना भएकोमा ३६ जनालाई भने जिल्ला बाहिर रेफर गरिएको थियो । अस्पतालका नर्सिङ निरीक्षक राईले उच्च जोखिममा रहेका गर्भवती महिलालाई यहाँको भन्दा बढी सेवा भएका क्षेत्रहरुमा रेफर गर्ने प्रकृयाले पनि तथ्याङ्क यो स्वरुपको आएको बताउनुभयो । सुरक्षित गर्भपतन सेवा लिनेको संख्या भने बढेको छ । राईका अनुसार आव २०७८।०७९ मा ३ सय ३२ जनाले यो सेवा लिएका छन् । आव २०७७।०७८ मा यो सेवा लिनको संख्या २ सय ९५ रहेको थियो ।

नियमित गर्भजाँचको अभाव,शारिरिक असुरक्षा,अन्तिम समयमा स्वास्थ्य संस्थामा आउने बानी र स्वास्थ्यकर्मीको नियमित परार्मशको अभाव जस्ता कारणले बाल तथा मातृ मृत्यु हुने कारकको रुपमा औंल्याउने गरिएको छ । नर्सिङ निरीक्षक राईले यसलाई मानवीय जीवनको ठूलै हेलचेक्र्याँईको रुपमा लिनु भएको छ । गर्भ रहेदेखि बच्चा नजन्मिजेल सम्मको अवधिमा स्वास्थ्य परीक्षण र स्वास्थ्यकर्मीको नियमित सल्लाह स्वीकार्य गर्ने हो भने आमा र बच्चा दुबैको जीवन जोखिम टर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts