हाङ्देवा र पापुङमा गरी ताप्लेजुङमा नयाँ दुई मतदान स्थल थप गर्न सिफारिस गरिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १८ । ताप्लेजुङमा नयाँ दुईमतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ ।
फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा १–१ वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित शिव आधारभूत बिद्यालयमा ९ सय ७१ मतदाता कायम हुने गरी नयाँ मतदानस्थल सिफारिस गरिने छ । यसअघि जनता मावि हाङ्देवा मतदान स्थल मात्र रहेकोमा अब हाङ्देवाभित्रै दुईवटा मतदानस्थल कायम गर्न सिफारिस गरिएको हो । शिव आधारभूत बिद्यालय नयाँ मतदान स्थल कायम भए अहिलेकै मतदाताका आधारमा जनता मावि मतदान स्थलमा १ हजार ७ सय १२ मतदाता रहने छन् । जनता मावि मतदान स्थलमा ३ वटा मतदान केन्द्र थिए । यस्तै मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङस्थित सिम्बुक आधारभूत बिद्यालयमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरिने भएको छ । अहिलेकै मतदाताका आधारमा सिम्बुक आधारभूत बिद्यालयमा २ सय ५३ मतदाता रहने गरी नयाँ मतदानस्थल थप गर्न सिफारिस गर्न लागिएको हो । सिम्बुकमा नया मतदान स्थल कायम भए राजेश्वरी आधारभूत बिद्यालय पापुङमा भने ९ सय ६५ मतदाता रहने छन् ।
यस्तै फक्ताङलुङ गाउँपालिकाका ४ वटा मतदान स्थलको नाममा भएको त्रुटी सच्याउन सिफारिस गरिने निर्णय भएको छ । कायम रहेका मतदानस्थलका नाममा आधारभूत बिद्यालय हुनुपर्नेमा माध्यमिक र माध्यमिक बिद्यालय हुनुपर्नेमा आधारभूत बिद्यालय हुन गएकोले सम्वन्धित बिद्यालयको नाम यकिन गरी त्रुटी सच्याउन सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । अहिले ताप्लेजुङमा ७३ मतदानस्थल र १ सय २२ मतदान केन्द्र रहेका छन् । मतदानस्थल टाढा भएकोले अपायक पर्ने,जनसंख्या र भूगोलका कारण मतदानस्थल थप गर्नुपर्ने,मतदानस्थल पुगेर फर्किन दुईदिन सम्म लाग्ने अवस्थाले रहेको औंल्याउँदै गत साउन १० गते बसेको सर्वदिलय संयन्त्रको बैठकले साउन १८ को दलिय संयन्त्र बैठकमार्फत नयाँ मतदा स्थल सिफारिसबारे निर्णय लिने बताएको थियो ।
सम्वन्धित वडाले मतदाता छुट्याई सर्वसम्मत रुपमा पालिकामा सिफारिस गर्ने र पालिकाले साउन १५ गते भित्रमा जिल्ला निर्वाचन कार्यालयमा प्रमाणितप्रति पठाउने अवस्थामा ताप्लेजुङमा ६ वटा मतदान स्थल थप्न सिफारिस गर्ने योजना बनेकोमा त्यो कार्य फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाले पूरा गरेका छन् । दलिय संयन्त्रले गरेको निर्णय अनुसार अब मतदानस्थल थप र त्रुटी सच्याउने कार्यको सिफारिस हुने छ । सिफारिस अवधि साउन २० गते सम्म रहेको छ ।