ताप्लेजुङका स्थानीय तहमा उम्मेदवार बनेका २ सय २९ जनाले अझै बुझाएनन् चुनावी खर्च बिबरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० । ताप्लेजुङका स्थानीय तहमा उम्मेदवार बनेकामध्ये अझै २ सय २९ जनाले खर्च बिबरण बुझाएका छैनन् ।

खर्च बिबरण नबुझाउनेमा सबैभन्दा बढी फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकामा उम्मेदवार बनेका ४०–४० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(बिपिन)दुलालका अनुसार खर्च बिबरण नबुझाउनेमा सिदिङ्वा गाउँपालिकाका ३३ जना,पाथीभरा याङ्वरक गाउँपालिकाका ३० जना,सिरिजंगा गाउँपालिकाका २७ जना र मिक्वाखोला गाउँपालिकाका २१ जना उम्मेदवार रहेका छन् । यस्तै आठराइ त्रिबेणी गाउँपालिकाका १२ जना र फक्ताङ्लुङ गाउँपालिका र मैवाखोला गाउँपालिकाका ९–९ जना उम्मेदवारले खर्च बिबरण बुझाएका छैनन् । जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार बनेका १४ जना मध्ये ८ जनाले खर्च बिबरण बुझाएका छैनन् । कार्यपालिका सदस्य सहित स्थानीय तहमा उम्मेदवार बनेका ९ सय १९ र जिससमा उम्मेदवार बनेका १४ सहित कूल ९ सय ३३ जनाले खर्च बिबरण बुझाउनुपर्नेमा कार्यपालिका सदस्य सहित स्थानीय तहमा उम्मेदवार बनेका ६ सय ९८ र जिससमा उम्मेदवार बनेका ६ सहित ७ सय ४ जनाले मात्र खर्च बिबरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको प्रत्यक्ष निर्वाचनमा ८ सय २९ जना र कार्यपालिका सदस्यमा ९० जना प्रतिश्पर्धी थिए । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४०) बमोजिम निर्वाचन खर्चको बिबरण सम्वन्धित जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ ताप्लेजुङ जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाका बिभिन्न पदमा उम्मेदवार दर्ता गराई निर्वाचन चिन्ह लिएका उम्मेदवारहरुले आफुले गरेको निर्वाचन खर्चको बिबरण निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।

ऐन अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार र वडाअध्यक्ष र वडासदस्यहरुले बढीमा १ लाख ५० हजार रुपैंया सम्म खर्च गर्न पाउने व्यवस्था रहेको थियो । यस्तै नगरपालिकाका प्रमुख,उपप्रमुखले बढीमा ४ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुले बढीमा २ लाख ५० हजार रुपैंया सम्म खर्च गर्न पाउने निर्वाचन खर्चको सीमा थियो । नगर तथा गाउँ कार्यपालिकाका सदस्यहरुले एकमुष्ठ रुपमा २५ हजार रुपैंया सम्म खर्च गर्न पाउने सीमा रहेको छ । यस्तै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले ५० हजार र सदस्यहरुले २५ हजार रुपैंया सम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts