|

लाखेजात्राको अवसरमा ताप्लेजुङमा बर्षेनि हुने गोल्डकप यसबर्ष नहुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ९ । लाखेजात्राको अवसर पारेर ताप्लेजुङमा हुँदै आएको पाथीभरा गोल्डकप यसबर्ष नहुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिले सोमवार पत्रकार सम्मेलनमार्फत यो बर्ष पाथीभरा गोल्डकप सञ्चालन गर्न नसकिने प्रष्ट्याएको हो ।‘हामीले खेल सञ्चालनको सम्भावनालाइ केन्द्रमा राखेर सरोकारवालाबीच घनिभूत छलफल ग¥यौं’लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष नारायण थापाले भन्नुभयो‘बिविध कारणले यो बर्ष फुटबल खेल सञ्चालन गर्ने अवस्था रहेन’ । सञ्चालन समितिका सचिव लक्ष्मीप्रसाद काफ्लेले कोरोना संक्रमणका कारण २०७६ सालमा सम्पन्न पाथीभरा गोल्डकपको चौथो संस्करण पछि गोल्डकप सञ्चालन हुन नसकेको बताउनुभयो । लाखेजात्रा सञ्चालन समितिले खेल सञ्चालनस्थल भानुजन माविको मैदान र आसपासमा पूर्वाधार निर्माणको कार्य समेत भइरहेको अवस्थाका कारण पनि प्रतियोगिता सञ्चालन गर्न कठिनाई भएको ठम्याएको छ । लाखेजात्राको अवसरमा बर्षेनि हुने प्रतियोगिता देउमान कप,कञ्चनजंघा कप हुँदै कालान्तरमा पाथीभरा गोल्डकपमा रुपान्तरण भएको छ ।

ताप्लेजुङमा खेल प्रतियोगिता सञ्चालनका लागि सामुदायिक खेल मैदान छैन । जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङले सामुदायिक खेल मैदानको अभावका अभ्यास,बन्द प्रशिक्षण र फुटबलका आन्तरिक प्रशिक्षण सञ्चालन गर्न कठिनाई भएको सुनाउनुभयो । खेल २०२९ सालबाट बिभिन्न नामले सञ्चालन हुने गरेको मानिन्छ । लाखेजात्रा सञ्चालन समितिले २०२९ सालमा ब्रिटिस लाहुरेहरुबाट व्यवसायिक फुटबलका लागि ‘एक्स’ च्यालेञ्ज कप निर्माण गरी ताप्लेजुङमा सञ्चालन हुने फुटबल प्रतियोगितालाइ प्रदान भएको विगत बताएको छ ।

त्यतिबेला अग्रज ब्रिटिस क्याप्टेन देउमान नेयोहाङको मृत्यु पश्चात सो कपलाइ स्वर्गीय देउमान नेयोहाङको स्मृतिमा लाखेजात्रामा खेलाईने फुटबल प्रतियोगिताका लागि तत्कालिन खेल सञ्चालन समितिलाइ हस्तान्तरण भएको ईतिहास रहेको लाखेजात्रा सञ्चालन समितिका सचिव काफ्लेले जानकारी दिनुभयो । काफ्लेले लाखेजात्रा खेल सञ्चालन समितिले ताप्लेजुङमा फुटबल खेलको इतिहास २०२९ साल भन्दा अगाडि भएपनि ऐतिहासिक तथ्यका आधारमा २०२९ सालबाट नै लाखेजात्राको अवसरमा खेल सञ्चालन हुने गरेको निश्कर्ष निकालेको जानकारी दिनुभयो । उहाँले फुटबल इतिहासको यर्थात दस्तावेज भए उपलब्ध गराएर सहयोग गर्न समेत अपिल गर्नु भएको छ । लाखेजात्रा सञ्चालन समितिले ताप्लेजुङको फुटबल खेललाइ संस्थागत गर्न स्वर्गीय देउमान,मविन्द्रमान नेयोहाङ र मकरजंग मादेनको अगुवाईमा तत्कालिन ब्रिटिस लाहुरेको योगदान उच्च रहेको बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts