| | |

पहिरोले खम्बा बगाएपछि फुरुम्बुमा विद्युत सेवा ठप्प

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ७ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युतको खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युतको खम्बा (पोल) ढालेपछि गाउँ अन्धकार भएको हो ।
फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिव १२ बजेपछि पहिरो गएको थियो । उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उहाँकाअनुसार फुरुम्बुको साविक वडा १, २, ३ र ४ मयाम क्षेत्रका करिव तीन सय परिवार विद्युत उपभोग गर्नबाट बञ्चित भएका छन् । यस्तै सडक क्षेत्रमै पहिरोले ढालेको विद्युतको खम्बा र तारका कारण जोखिम पनि बढेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । पहिरोले विद्युतको खम्बा ढालेर क्षति पुगेको अवस्थाबारे शनिबार बिहानै नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ वितरण केन्द्रलाई जानकारी गराएको पनि उहाँले जानकारी दिनुभयो ।
यता नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रले फुरुम्बुमा पहिरोले क्षति पु¥याएको संरचनाको मर्मत–सम्भारका लागि आइतबार मात्र प्राविधिकसहितको टोली जाने जनाएको छ । जिल्लाको अन्य क्षेत्रमा पनि विद्युतको खम्बा र तारसहित प्रसारण लाइनमा क्षति पुगेकाले उक्त ठाउँहारुमा शनिबार मर्मत गरिएको वितरण केन्द्रले जानकारी दिएको छ ।
यसैगरी शुक्रबार राति गएको पहिरोका कारण उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्गको फुरुम्बु–मयाम–लिङ्खिम खण्ड पनि अवरुद्ध बनेको छ । यस्तै पहिरोले फुरुम्बुकै गढीडाँडा–ओठ–मयाम जोड्ने ग्रामीण सडकसमेत क्षतिग्रस्त बनाएपछि यातायात सेवा अवरुद्ध बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts