| |

ताप्लेजुङमा असारभित्र ७०० ले गरे मतदाता नामावली दर्ता

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ६ ।
ताप्लेजुङमा असार महिनामा करिव सात सय जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । असार १ गतेदेखि मतदाता नामावली संकलनको कार्य सुरु भएसँगै जिल्ला निर्वाचन कार्यालयमार्फत उक्त सङ्ख्यामा मतदाताले नाम दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई महिनापछि असार १ गतेदेखि देशभर मतदाता नामावली संकलन गर्न सुरु गरेको थियो । मतदाता नामावली संकलनको कार्य सुरु भएपछि एक महिनामा अर्थात असार मसान्तभित्र ताप्लेजुङमा कुल ६९८ जनाले नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बान्दवराज दुलाल (विपीन) का अनुसार ३८५ पुरुष र ३१३ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमार्फत ३९४ र जिल्ला प्रशासन कार्यालयमार्फत ३०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका नौवटै स्थानीय तहका मतदाताले नाम दर्ता गराएका छन् भने बाह्य जिल्लाका दुई जनाले नाम दर्ता गरेका छन् ।
यस्तै असारभित्र २९ जना मतदाताले आफ्नो विवरण सच्याएका छन् भने १०८ जनाले ठाउँ परिवर्तन गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांसले जिल्लाभित्रै एक स्थानीय तहदेखि अर्कोमा मतदाताले नाम सारेका छन् । केहीले जिल्ला बाहिर इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं लगायतका जिल्लामा नाम सारेका सूचना अधिकारी दुलालले जानकारी दिनुभयो ।
साउन महिनायता पनि फोटोसहितको मतदाता नामावली दर्ता गर्नेहरु आउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आउँदो मङ्सिरभित्रै प्रदेश र संघको निर्वाचन हुने चर्चाका कारण पनि यसअघि छुटेका तथा उमेरले योग्यता पुगेकाहरुले धमाधम नामावली दर्ता गराइरहेका बताइएको छ । हाल जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ताको कार्य चलिरहेको छ ।
यसअघि गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा ९० हजार ९३४ जना मतदाता रहेका थिए । आगामी प्रदेश र संघको निर्वाचन सम्ममा तीन हजारदेखि पाँच हजारसम्म मतदाता थपिनसक्ने जिल्ला निर्वाचन कार्यालयको अनुमान रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts