|

ताप्लेजुङका दुई सामुदायिक बिद्यालयमा एकसाथ सुरुभयो एनसिसी तालिम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङका दुई सामुदायिक बिद्यालयहरुमा आइतबारबाट एकसाथ राष्ट्रिय सेवा दल(एनसिसी)को तालिम सुरु भएको छ ।

फुङ्लिङ नगरपालिका वडा नं ७ को युवाबर्ष माध्यमिक बिद्यालय र वडा नं ९ को जनता माध्यमिक बिद्यालयमा सिसं ४८ औं ब्याचको एनसिसी तामिल सुरु भएको हो । युवाबर्षमा सञ्चालित तालिमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले राष्ट्रिय भावनाले ओतप्रोत,स्वयंसेवी र इमान्दार जनशक्ति उत्पादनमा तालिम कामयावी हुने बिश्वास लिनुभयो । विगतका एनसिसी तालिमहरुमा ताप्लेजुङका सहभागीको प्रस्तुति उत्कृष्ट र अब्बल रहेको स्मरण गर्दै प्रजिअ पोखरेलले त्यो छापलाइ यसपटकको तालिमका सहभागीले समेत कायम राख्ने बिश्वास लिनुभयो । एनसिसी बारेको प्रथम प्रवचन दिदैं भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले एनसिसी तालिमको महत्व र यसको उपयोगिता बारे प्रष्ट्याउनुभयो । उहाँका अनुसार एकसय दिनको तालिममा ७९ दिन स्थानीय रुपमै सघन प्रशिक्षण गराइने गराइने छ भने २१ दिन बाह्य क्षेत्र(मोरङको याङशिला)मा गरेर तालिम दिइने छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी)कैलाश राई,शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका प्रहरी निरीक्षक कूलबहादुर भण्डारी,फुनपा वडा नं ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला,फुनपा वडा नं ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ,जनता मावि हाङ्देवाका प्रधानाध्यापक शरदराज निरौला,युवा बर्षमावि कैंजलेका प्रधानाध्यापक चन्द्रमणि पौडेल,दुबै बिद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ताको रुपमा परिचित छ । तालिमप्राप्त राष्ट्रिय सेवा दलका सदस्यलाइ विपतको बेला आवश्यकताअनुसार परिचालन गर्न सकिन्छ । यो तालिम लिने विद्यार्थीको उमेर १४ देखि २४ वर्षको हुनुपर्छ । सबैभन्दा पहिला तालिमका लागि विद्यार्थी तयार हुनुपर्छ,त्यसपछि अभिभावकको स्वीकृति चाहिन्छ । एकसय दिनको यो तालिममा पिटी परेड गराइन्छ भने कतिपय व्यवहारिक ज्ञान पनि सिकाइने गरिन्छ । तालिमको मुख्य उद्धेश्य कुशल यूवा दस्ता बनाउनु रहेको भीमकाली गुल्मका गुल्मपति श्रेष्ठले जानकारी दिनुभयो ।

युवाहरूको क्षमता अभिवृद्धि गरेर अनुशासित दस्ता बनाउन यो अभियान चलाउने गरिएको छ । एनसिसीमा जुनयिर डिभिजन र सिनियर डिभिजन गरी दुई प्रकारका तालिम रहेका हुन्छन् । जुनियर डिभिजनमा ८ देखि १० कक्षाका विद्यार्थी हुन्छन् भने सिनियर डिभिजनमा ११ र १२ कक्षाका विद्यार्थी हुन्छन् । दुबै प्रकारको तालिम कार्यक्रमलाई संस्थागत तह र वार्षिक क्याम्प तहमा विभाजित गरिएको हुन्छ । दुबै तालिम कार्यक्रममा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको वार्षिक क्याम्प सञ्चालन गरिन्छ । तालिममा मास पिटी,ड्रिल,विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका ज्ञान सिकाइन्छ । सिनियर डिभिजनका लागि हतियार तालिम तथा फायरिङ,घोडचढी,रक क्लाइम्बिङलगायत पनि सिकाइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts