| |

मृगौला बचाउ अभियान सञ्चालन गर्न माग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार २२ ।
ताप्लेजुङमा मृगौला बचाउ अभियान सञ्चालन गर्न माग गरिएको छ । पछिल्लो समय थाहा नै नपाई मृगौला फेल हुने क्रम बढेकोभन्दै फुङ्लिङ नगरपालिकाका सर्वसाधारणले मृगौला बचाउ अभियान सञ्चालन गर्न माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङले फुङ्लिङ नगरपालिका–११ फावाखोलामा बुधबार आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागीले मृगौला बचाउ अभियान सञ्चालन गर्नुपर्ने माग गरेका छन् । स्थानीय त्रिभुव लिम्बूले थाहा नै नपाई मृगौला फेल हुने भएकाले मृगौला बचाउ अभियान सञ्चालन गर्न नगरपालिकासँग माग गर्नुभयो ।
मृगौला बचाउ अभियान चलाएर बेला–बेलामा मृगौला परीक्षण गर्ने व्यवस्थासहित नगरपालिकाले शिविर सञ्चालन गर्नुपर्ने लिम्बूले माग गर्नुभएको छ । आफ्नै क्षेत्रमा स्वास्थ्य परीक्षण गराई मृगौलाको अवस्थाबारे जानकारी लिने अवसर पाएमा उपचारको व्यवस्था गर्न सकिनेभन्दै उहाँले अभियानको आवश्यक भएको माग गर्नुभयो ।
यस्तै कार्यक्रमका सहभागीले फुङ्लिङबजार–फावाखोला जोड्ने सडकको कालोपत्रेसहित स्तरोन्नति गर्नुपर्ने माग गरेका छन् । स्थानीय पशुपालक किसानले पशुचिकित्सक (पशु विशेषज्ञ) को व्यवस्था गर्नुपर्ने माग गरेका छन् भने सामाजिक सुरक्षा भत्ताको रकम सहजगरी गाउँमै पाउने व्यवस्थाका लागि सर्वसाधारणले नगरपालिकासँग माग गरेका छन् ।
विद्यालय तथा शैक्षिक सुधार, स्थानीय भाषा शिक्षण, सबै धर्म–संस्कारको संरक्षण र विकास लगायतको कार्यमा नगरपालिकाले सघाउनुपर्ने माग गरेका छन् । त्यस्तै सर्वसाधारणले वडाका सबै टोल वा क्षेत्रको आवश्यकअनुसार समान रुपले योजना छनोट गरी कार्यान्वयन गर्न पनि जनप्रतिनिधि पदाधिकारीसँग माग राखेका छन् ।

कार्यक्रमका सहभागी ।

यता जवाफदेही पक्षको तर्फबाट नगर प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, वडाध्यक्ष युवराज भट्टराई (योगेश) लगायतले सर्वसाधारणको सवालको जवाफ दिनुभएको थियो । सर्वसाधारणले राखेको सवालको जवाफ दिने क्रममा नगरप्रमुख मादेनले आफ्नो कार्यकालभित्र सुकेटार–देउराली–लालीखर्क–तेम्बेवा–फावाखोला सडक कालोपत्रे गरिदिने बताउनुभयो । मादेनले प्रदेश तथा संघीय सरकारलाई गुहारेरै भए पनि उक्त सडक कालोपत्रे (पिच) गरिदिने बचन दिनुभयो ।
नगर प्रमुख मादेनले मृगौला बचाउने लगायत स्वास्थ्य सम्बेदनशीलताप्रति सबै सजग हुनुपर्ने बताउनुभयो । नगर उपप्रमुख ओझाले नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना ल्याएको र सोही शिविरका क्रममा मृगौला परीक्षण गर्न सकिने बताउनुभयो । महिलाको स्वास्थ्य परीक्षण तथा प्रसूति सेवाका लागि पनि नगरपालिकाले नीति कार्यक्रमको व्यवस्था गरेको उहाँले बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतम लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts