पालिका उपाध्यक्ष आङबुहाङको पहलमा चार महिना देखि घरमै थुनिएकी मानसिक सन्तुलन गुमेकी महिलाको उद्धार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाका नवनिर्वाचित जनप्रनिनिधिहरुले आर्थिक अभावका कारण उपचार हुन नसकेर घरमै ‘बन्धक झैं ’ रहेकी मानसिक सन्तुलन गुमेकी एक महिलाको उद्धार गरी उपचार र संरक्षणको पहलकदमी लिनु भएको छ ।
आठराइ त्रिबेणी गाउँपाालिका वडा नं ३ हाङ्पाङकी ४४ बर्षिय कल्पना रसाइलीको उद्धार गरिएको हो । मानसिक सन्तुलन गुमेकी ति महिलाको आर्थिक अवस्था कमजोर भएर उपचार हुन नसकेपछि उहाँ करिव ४ महिना देखि घरमै कोठामा थुनिएकी हुनुहुन्थ्यो । घरमै थुनिएको अवस्थाबाट उद्धार गरेसंगै उहाँको तत्कालिन संरक्षणको दायित्व सुनसरी ईटहरी स्थित ‘माया घर नेपाल’ले लिएको छ । पालिका उपाध्यक्ष आङबुहाङ अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएको छ । घरको आर्थिक अवस्था कमजोर भएको र उपचारको अभावमा कोठामै थुनिएको अवस्था देखेपछि उहाँकै योजनामा उपाध्यक्ष आङबुहाङले माया घर नेपाललाइ खबर गरी उद्धार र संरक्षण गरिएको स्थानीय प्रेम चौहानले जानकारी दिनुभयो । कोठामा थुनिएको अवस्थामा घरबाट उठाइएकी ति महिलालाइ माया घर नेपालको ईटहरीस्थित केन्द्र सम्म पठाउने प्रयोजनका लागि सदरमुकाम फुङलिङ सम्म पु¥याउन पालिका अध्यक्ष अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले आफु चढ्ने सवारी उपलब्ध गराएको पोमूका स्वकीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
माया घर नेपालले यसरी समस्यामा परेका नागरिकको उद्धार गरी उपचार र तत्कालिन संरक्षणको दायित्व लिने गर्छ । उपाध्यक्ष आङबुहाङको पलहदकमीबाट सुरु भएको यो उद्धार कार्यपछि पालिका क्षेत्रमा उपचारको अभावमा बन्धक बनिरहनुपर्ने अवस्थाको अन्त्यका लागि आफुहरुले उचित ध्यान दिने निर्वाचित जनप्रतिनिधिहरुले बताएका छन् । आठराइ त्रिबेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यमान यक्सो सहितको सहभागितामा यो उद्धार कार्य पूरा भएको बताइएको छ । पालिका उपाध्यक्ष आङ्बुहाङले यस्तो समस्यामा परिरहेका नागरिकको उद्धार गर्ने कार्य जनप्रतिनिधिको तवरबाट सुरु भएको बताउँदै आफुहरु यस्ता अभियानमा अनवरत लागिरहने बताउनुभयो ।
फोटो ः उद्धार गरिएकी महिला,उनलाइ थुनिएको कोठा र रातिको समयमा उद्धार गर्दै उपाध्यक्ष आङबुहाङ सहितको टोली ।