फुङलिङ नगरपालिकाले उद्यमका आकाँक्षीलाइ सीप विकास,उपकरण र कच्चा पदार्थमा सहयोग गर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले उद्यम गर्न चाहनेहरुलाइ सीप विकास,उपकरण र कच्चा पदार्थमा सहयोग गर्ने घोषणा गरेको छ ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रत्येक व्यक्तिले आत्मनिर्भर बन्ने उपाय स्वरुप सीप हासिल गर्ने र श्रमका लागि जाँगर लगाउन तयार भएको अवस्थामा नगरपालिकाले कच्चा पदार्थ र उपकरणका लागि सहुलियत प्रदान गर्ने बचन दिनुभयो । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको संयोजनमा फुङलिङ नगरपालिका वडा नं ६ गुम्बाडाँडामा सञ्चालित एड्भान्स राडीपाखी बुनाइ तालिमको समापन समारोहमा बोल्दै मादेनले सिकेको सीपलाइ श्रममार्फत रोजगारी सृजना गर्ने कार्यमा जाँगर भएकाहरुलाइ नगरपालिकाले सहुलियत प्रदान गर्न कञ्जुस्याँइ नगर्ने बताउनुभयो । बजार नजिकको क्षेत्र भएकोले उत्पादित राडीपाखीको बजारीकरणमा कुनै समस्या नरहेको बताउँदै मादेनले राडीपाखी संगै ऊनमार्फत अन्य नयाँ प्रकारका उत्पादन बृद्धिमा समे ध्यान दिन उहाँले स्थानीयलाइ आग्रह गर्नुभयो । बढीभन्दा बढी ऊनदिने भेडापालनका लागि नगरपालिकाले योजना ल्याउने मादेनको संकेत थियो ।

फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले राडीपाखी लोपोन्मुख बनिरहेको अवस्थामा यसको संरक्षण र जर्गेना गर्दै यसको व्यवसायिकरणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बचन दिनुभयो । घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले सीप हस्तान्तरण संगै प्रविधिमा सहुलियत दिएर सीपलाइ श्रममा र श्रममार्फत रोजगारी सृजना गर्ने उद्देश्य सहित घरेलु कार्यालयले स्थानीय तहसंगको समन्वयमा सीप हस्तान्तरण अभियान सञ्चालन गरेको बताउनुभयो । फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेले सीपलाई श्रममा बदल्न सके रोजगारी सृजनामा अरु कसैको मुख ताक्नु नपर्नेमा जोड दिनुभयो ।

घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले उत्पादन र बजारीकरणमा सघाए उद्यमीहरुको जाँगर बृद्धि हुनेमा जाड दिनुभयो । गुम्बाडाँडा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमारी गुरुङले कच्चा पदार्थको अभाव र मेहनेत बढी लगाउनुपर्ने भएकोले राडीपाखी उत्पादनको लागत दिनहुँ महंगो पर्दै जाने बताउँदै सहयोगको याचना गर्नुभयो । कार्यक्रममा समापन मन्तव्य राख्दै फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन(तेज)गुरुङले स्थानीय परिवेश र आवश्यकता अनुसारको उद्यम सृजनाका लागि वडातहले योजना तयार पारी नगर कार्यपालिकामार्फत अघि बढाउने बिश्वास दिलाउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts