| |

मैवाखोलामा एमालेको विरासत तोड्दै माओवादी विजयी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको विरासत तोड्दै नेकपा (माओवादी केन्द्र) ले विजयी हासिल गरेको छ । मैवाखोलामा सत्ता गठबन्धनबाट अध्यक्ष पदका साझा उम्मेदवार विजयप्रकाश वनेम लिम्बू अत्यधिक मतका साथ विजयी हुनुभएको हो ।
उक्त गाउँपालिकामा उपाध्यक्ष पदमा पनि गठबन्धनकै साझा उम्मेदवार नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र ताप्लेजुङका सह–इन्चार्ज समेत रहनुभएका वनेमले दुई हजार ६०९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । वनेमका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार थक्लुङ लिम्बूले दुई हजार ५२ मत मात्र प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ५५७ रहेको छ ।
यस्तै उपाध्यक्षका प्रत्यासी लिम्बूले पनि दुई हजार ५१४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कौशिला थक्लुङले दुई हजार १०१ मत प्राप्त गर्नुभएको थियो भने उहाँहरुबीच मतान्तर ४१३ रहेको छ । अध्यक्ष र उपाध्यक्षमा पराजित थक्लुङद्वय २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित हुनुभएको थियो ।
गणतन्त्र स्थापना पूर्व बहुदल कालदेखि नै एमाले विजयी हुँदै आएको मैवाखोला गाउँपालिकामा यसपटक गठबन्धनले विजयी हासिल गरेको हो । एमाले सचिव योगेशकुमार भट्टभराईको गृह क्षेत्र रहेको मैवाखोलाका एकबाहेक सबै वडामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
मैवाखोला–१ र वडा ५ मा माओवादी, वडा ३ र ४ मा काँग्रेस र वडा २ मा नेकपा (एकीकृत समाजवादी) ले वडाध्यक्ष जितेको छ । एमाले भने वडा ६ मा मात्र विजयी भएको छ । २०७४ सालमा अध्यक्ष र उपाध्यक्षसहित पालिकामा निर्वाचित हुने ३२ पदमध्ये ३१ मा एमाले एक्लै निर्वाचित भएको थियो । यता बाँकी रहेको स्थानीय तहहरुमा मत गणना अन्तिम चरणमा पुगेको पनि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts