ताप्लेजुङको दुर्गम गाउँका मतदान केन्द्रमा पुग्ने मतदान सामग्री सम्वन्धित मतदान अधिकृतलाइ बुझाउन थालियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङमा मतदान गराउने जिम्मेवारी पाएका अधिकारीहरुले शनिवार दुर्गम स्थानमा पुग्ने मतदान सामग्री बुझेर लगेका छन् ।

दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गम क्षेत्र याङ्मा,ग्याब्ला,कालिखोला,सादेवा,आङ्खोप,पेदाङ लगायतका स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले मतपत्र सहितका सामग्री बुझेर लगेका छन् ।

याम्फुदिन,घुन्सा,ओलाङ्चुङगोला लगायतका स्थानका लागि भने आइतवार सबेरै मतदान सामग्री बुझाउने तयारी भइरहेको दुलालले जानकारी दिनुभयो । टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानहरुलाइ प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदान स्थल र १ सय २२ वटा मतदान केन्द्र रहेका छन् ।
मास्क,स्यानीटाइजर देखि सियो र प्लाष्टिक सम्म
मतदान अधिकृतहरुले यो बर्ष ७१ वटा सम्म निर्वाचन सामग्री बुझेर लैजानुपर्ने हुन्छ । हेर्दा र सुन्दा सानो तर महत्वपूर्ण ठानिएका सामग्रीहरु निर्वाचनका क्रममा प्रयोग हुनेछन् । यो बर्षका स्थानीय तहको निर्वाचनमा अघिल्ला निर्वाचनहरुभन्दा बढी मास्क र स्यानीटाइजर थपिएका छन् । बर्षाको समय भएकोले मतपेटिका जोगाउन र सुरक्षित ढंगले सम्वन्धित निर्वाचन अधिकृतको कार्यालय सम्म पु¥याउन प्लाष्टिक समेतको प्रवन्ध गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

धेरै जिल्लाहरुमा निर्वाचन आयोगले ५५ किसिमका सामग्री आफैं पठाएको छ भने बाँकी सामग्री सम्वन्धित जिल्ला निर्वाचन कार्यालयले समेत व्यवस्थापन गर्ने छ । यि चुनावी सामग्री मतदान केन्द्रदेखि मतगणनासम्म प्रयोगमा आउन सक्छन् । धेरै मतदान केन्द्रमा र केही सामग्री मतगणनामा समेत प्रयोग हुने अवस्था हुन सक्छ । सलाई, सियो, धागो, कोरा कपडाका थैला, डोरी, कालो र रातो रंगका कलम, पिन, एस्टाब्लर, पञ्चिङ मेसिन, लाहा, रबर र पित्तलको स्वस्तिक छाप, रंगिन र श्यामस्वेत फोटोसहितको मतदाता नामावली, मतपेटिका छेकबार, नेपाली कागज र फोटोकपी पेपर लगायतका सामग्री चुनावमा प्रयोगमा आउने सामान्य सामग्री हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts