ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता,सिदिङ्वा र मेरिङ्देनमा नयाँ समीकरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख,६ उपाध्यक्ष सहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार १ नगरप्रमुख,१ पालिका अध्यक्ष,१ नगर उपप्रमुख र ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकामा उम्मेदवारी दर्ता गराएका १ प्रमुख,१ उपप्रमुख,मिक्वाखोला गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका १ पालिका अध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट उम्मेदवारी गराएका रेणुका पन्दाक सहित ३,मेरिङ्देन गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका एमाले उम्मेदवार टीकामाया लिम्बू,पाथीभरा याङ्वरकमा उम्मेदवारी दर्ता गराएका १ र मिक्वाखोलामा उम्मेदवारी दर्ता गराएका १ गरी ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिनु भएको छ । यसैगरी बिभिन्न स्थानीय तहको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका १४,वडा सदस्य १५,महिला सदस्य ५ र दलित महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सिदिङ्वा र मेरिङ्देनमा बद्लियो समीकरण
उम्मेदवारी फिर्ता प्रकृयाल ताप्लेजुङको मेरिङदेन र सिदिङ्वा गाउँपालिकाको राजनीतिक समीकरण बद्लिएको छ । त्यहाँ माओवादीका वागी उम्मेदवारलाइ एमालेले सघाउने भएको छ । यि दुबै स्थानमा अब अब काँग्रेस सहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको वागी पक्ष बीच प्रतिश्पर्धा हुने देखिएको छ । मेरिङ्देनमा एमालेले उपाध्यक्ष पदका उम्मेदवार टीकामाया लिम्बूको उम्मेदवारी फिर्ता लिएको छ । अब एमालेले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दावाछिरिङ शेर्पा(बिशालु)लाइ सघाउने देखिएको छ । यद्यपी एमालेले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । अब त्यहाँ गठबन्धन पक्षबाट अध्यक्षको उम्मेदवार बन्नु भएका काँग्रेसका डम्बर हाङ्गाम,एमालेका केदारजंग श्रेङ्चोङवाङ,जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बूबीच प्रतिश्पर्धा हुने देखिएको छ । उपाध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रुपा चोङ्वाङ र एमालेको सर्मथन प्राप्त भएको दावी गरिएका गठबन्धनका वागी माओवादी केन्द्रका वागी उम्मेदवार शेर्पाबीच उपाध्यक्षमा चुनावी प्रतिश्पर्धा हुने देखिएको छ । पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका शेर्पाले स्वतन्त्र रुपमा दिनु भएको थियो । गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो । यस्तै सिदिङ्वामा एमालेले रेणुका पन्दाकको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाइ सघाउने भएको छ । निवर्तमान उपाध्यक्ष रहनु भएका ताम्लिङलाइ माओवादी केन्द्रले टिकट नदिए पछि उहाँ स्वतन्त्र उठ्नु भएको थियो । काँग्रेससंग समीकरण गरेको माओवादीले त्यहाँ उपाध्यक्षमा कृष्णकुमारी(बन्दना)कडरियालाइ उठाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts