प्रारम्भिक चरणको निर्वाचन सामग्री लिएर ताप्लेजुङका लागि खटिएका निर्वाचन अधिकृतहरु कार्यक्षेत्रतर्फ

खगेन्द्र अधिकारी
ताप्लेजुङ, बैशाख ७ । स्थानीय तहका निर्वाचनका लागि ताप्लेजुङमा खटिएका निर्वाचन अधिकृतहरुले प्रारम्भिक चरणको निर्वाचन सामग्री बुझेर कार्यक्षेत्रतर्फ लाग्नु भएको छ ।
यो संगै फुङ्लिङ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८ वटा गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।‘सबै निर्वाचन अधिकृतज्युहरुले प्रारम्भिक चरणको निर्वाचन सामग्री बुझेर लानु भएको छ’जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले भन्नुभयो । स्थानीय तहको निर्वाचनका आठराइ त्रिबेणीमा बिदुरप्रसाद कोईराला,फक्ताङ्लुङमा राजकुमार दाहाल, मिक्वाखोलामा मधुसुदन आचार्य र मैवाखोलामा दिब्यराज घिमिरे निर्वाचन अधिकृत तोकिनु भएको छ । यस्तै मेरिङ्देन गाउँपालिकामा ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मी र पाथीभरा याङ्वरक गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका जिल्ला न्यायधीबक्ता युवराज महत निर्वाचन अधिकृत तोकिनु भएको छ । सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक बिनिता भट्टराई तथा सिरिजङ्गा गाउँपालिकामा बिशेष सरकारी वकिल कार्यालयका उपन्याधिबक्ता मोहन खनाल निर्वाचन अधिकृत रहनु हुने छ ।
जिल्ला सदरमुका रहेको नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहाँ सम्वन्धित जिल्लाको बरिष्ठतम् न्यायाधीस मुख्य निर्वाचन अधिकृत रहने प्रावधान रहेको छ । फुङ्लिङ नगरपालिका लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सहित जिल्ला न्यायाधीस प्रकाश राउतले जिम्मेवारी पाउनु भएको छ । यसअघि मंगलवार मुख्य निर्वाचन अधिकृत राउत,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहितका सुरक्षा निकायका प्रमुखहरु,निर्वाचन अधिकृतहरु र जिल्ला निर्वाचन कार्यालयका प्रमुखको संयुक्त छलफल भएको थियो । छलफल निर्वाचनका कार्यक्रम र त्यसको प्रभावकारिता केन्द्रित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।