|

ताप्लेजुङलाइ पूर्ण खोपयुक्त बनाउन टाइफाइड बिरुद्धको खोप अभियानलाइ अवसरको रुपमा प्रयोग गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २४ । टाइफाइड बिरुद्धको खोप अभियानलाइ पूर्ण खोपयुक्त जिल्ला बनाउने कार्यको अवसरमा रुपमा प्रयोग गर्न ताप्लेजुङका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

ताप्लेजुङमा ५ सय ४६ वटा खोप केन्द्रमार्फत आउँदो बैशाख २ गते सम्म खोप लगाइने छ । चैत २५ गतेबाट १५ महिना देखि १५ बर्षसम्मका सबै बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने कार्यतालिका तयार भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिनुभयो । विश्व स्वास्थ्य दिवसको अवसर पारेर बिहीबार स्वास्थ्य कार्यालयले सरोकारवालासंग छलफल गर्दै टाइफाइड बिरुद्धको खोप अभियानलाइ अवसरको रुपमा प्रयोग गरेर ताप्लेजुङलाइ पूर्ण खोपयुक्त जिल्ला बनाउने प्रतिबद्धता जुटाएको छ । टाइफाइड ज्वरो सबै उमेर समूहका व्यक्तिहरुमा लागेको पाइएता पनि बिशेषतः १५ बर्ष भन्दा मुनिका बालबालिकाहरुमा धेरै लागेको पाईएकाले यो अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङमा यो उमेर समूहका करिव ३६ हजार बालबालिका रहेका छन् । यो उमेर समूहका अधिकाँस बालबालिका अध्यनको क्रममा बिद्यालयमा रहने भएकोले अधिकाँस खोप केन्द्र बिद्यालयमै रहने स्वास्थ्य कार्यालयले जनाएको छ ।

रायका अनुसार फुङ्लिङ नगरपालिकामा १ सय ४,सिरिजङ्गामा ६९,सिदिङ्वा गाउँपालिकामा ५६,पाथीभरा याङ्वरकमा ५१,फक्ताङ्लुङमा ६१ र मिक्वाखोलामा ५२ वटा खोप केन्द्र रहने भएका छन् । यस्तै मेरिङ्देनमा ४३,आठराइ त्रिबेणीमा ५२ र मैवाखोलामा ४८ वटा केन्द्र रहने भएका छन् । टाइफाइड बिरुद्धको खोप प्रभावकारिता ९६.९५ प्रतिशत हुने स्वास्थ्यकर्मीहरुको दावी रहेको छ । अभियानको क्रममा १५ महिना देखि १५ बर्षसम्मका सबै बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने भएपनि नियमित खोपका क्रममा भने १५ देखि २३ महिना सम्मका बालबालिकालाइ मात्र यस्तो प्रकारको खोप दिइने स्वास्थ्य कार्यालयले भनेको छ । १५ देखि २३ महिनाबीचका बालबालिकालाइ तिघ्राको बीचमा र २ देखि १५ बर्ष सम्मका बालबच्चालाइ बाँया पाखुराको बीचमा खोप लगाइने छ । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा) लगायतले खोप अभियानको प्रभाकारिता बारे आफ्नो राय राख्नु भएको थियो ।
यो खोप लगाए पछि देखिने असरहरु
यो खोप लगाएपछि अन्य खोपहरु लगाएको समयमा जस्तै केही सामान्य सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टायको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने आदी असरहरु हुनस्क्छन् र यस्ता सामान्य लक्षणहरु आफै बिस्तारै ठीक भएर जान्छन् । यस्ता सामान्य लक्षणहरु बाहेक अन्य जटिलता देखा परेमा भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts