ताप्लेजुङको पाथीभरा याङ्वरकमा दुईदिने आँखा शिविर सुरु,फक्ताङ्लुङ र फुङ्लिङमा पनि शिविर सञ्चालन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २२ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा मंगलवारबाट शल्यकृया सहितको दुईदिने निःशुल्क आँखा शिविर सुरु भएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको लागत साझेदारी र नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङ तथा सेवा फाउण्डेसन काठमाडौको आयोजनामा शिविर सुरु भएको हो । शिविरको शुभारम्भ गर्दै पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले गाउँ–गाउँबाट अन्धोपन निवारणका लागि शिविर आयोजना गरिएको बताउनुभयो । दुईबर्ष अघि समेत सो क्षेत्रमा आँखा शिविर सञ्चालन भएको र त्यतिबेला समेत अधिक मात्रामा आँखाका रोगीहरु फेला परेकोले अन्धोपन र आँखाको समस्या निवारणका लागि पुनःशिविर सञ्चालनका लागि पालिकाले अग्रसरता लिएको अध्यक्ष सुब्बाले बताउनुभयो । शिविरमा भरतपुर आँखा अस्पतालका डेपुटी निर्देशक तथा नेत्र बिशेषज्ञ डाक्टर पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले परीक्षण तथा उपचार गर्ने भएको छ । सेवा फाउण्डेसनका कार्यक्रम निर्देशक रामप्रसाद कडेंलले स्थानीय तहको लागत साझेदारी सहितको अग्रसरताले आँखा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम सृजना हुने बिश्वास लिनुभयो । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष मातृकाप्रसाद नेपालले आँखा स्वास्थ्यको क्षेत्रमा स्थानीय तहले लिएको पहलकदमी प्रशंसायोग्य रहेको बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष रनमाया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौला,पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ र ३ का वडाध्यक्षहरु क्रमशःज्ञानप्रसाद दाहाल र भीमकुमार बस्नेत सहितको उपस्थिति रहेको थियो । नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङका इञ्चार्ज काजीमान गुरुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा चैत २५ र २६ गते पालिकाको केन्द्र तापेथोकमा समेत शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने छ । चैत २८ गते एकदिन डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र फुङ्लिङमा समेत शिविर आयोजना हुने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts