सम्मानजनक साझेदारी नभए एक्लै चुनावी मैदानमा जाने जसपा ताप्लेजुङको तयारी,प्रारम्भिक चरणका उम्मेदवारको घोषणा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २१ । सम्माजनक साझेदारीका लागि गठबन्धन पक्ष तयार नभए एक्लै चुनावी मैदानमा जाने निश्कर्ष सहित जनता समाजवादी पार्टीले ताप्लेजुङको फुङ्लिङ सहितका स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ ।

केन्द्रीय सदस्य कुमार साम्योको उपस्थिति र जिल्ला अध्यक्ष कीर्तिमान मादेनको अध्यक्षतामा बसेको बैठकबीच जसपा ताप्लेजुङले उम्मेदवार घोषणा गरेको हो । जस अनुसार जसपाले फुङ्लिङ नगरपालिकाको प्रमुखमा प्रदीप मादेन(नानी) र उपप्रमुखमा प्रज्ञा इजम लिम्बूलाइ अघि सारेको छ । जसपाले फुङ्लिङ नगरपालिका वडा नं १ को वडाध्यक्षमा सुकबहादुर मादेन,वडा नं २ को वडाध्यक्षमा दुर्गाप्रसाद न्यौपाने,वडा नं ३ मा इन्द्रकुमारी हेल्लोक पालुङ्वा,वडा नं ४ मा लोकेन्द्र तुम्बाहाम्फे,वडा नं ५ मा अशोक बिश्वकर्मा,वडा नं ६ मा भरतकुमार गुरुङ र वडा नं ७ मा कर्ण पालुङ्वालाइ वडाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ । यस्तै वडा नं ९ मा दीपेश मादेन,वडा नं १० मा श्रीहाङ तबेबुङलाइ उम्मेदवार बनाउने जसपाले घोषणा गरेको छ ।

फक्ताङ्लुङ गाउँपालिकामा श्री लिङ्खिम,मिक्वाखोला गाउँपालिकामा डिल्लीहाङ साँवा,पाथीभरा याङ्वरक गाउँपालिकामा शरण तामाङ र सिदिङ्वामा अमृत लिङ्देनलाइ अध्यक्ष पदको उम्मेदवार बनाउने जसपाले जनाएको छ । ति पालिकाहरुमा उपाध्यक्षको उम्मेदवार घोषणा गरिएको छैन । फक्ताङ्लुङ गाउँपालिकाको वडा नं २ मा सुरेश अन्छङ्वो,वडा नं ४ मा डम्बर लाबुङ,वडा नं ५ मा मकरध्वोज लिम्बू र वडा नं ६ मा केदारजंग ताप्मादेनलाइ वडाध्यक्षको उम्मेदवार बनाउने गरी जसपाले घोषणा गरेको छ । मिक्वाखोला गाउँपालिकाको वडा नं २ मा सूर्यप्रसाद बस्नेत र वडा नं ४ मा गोपाल साँवालाइ वडाध्यक्षको उम्मेदवार बनाउने जसपाले बताएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ३ मा सरोज कङ्लिवालाइ वडाध्यक्षको उम्मेदवार बनाउने जसपा ताप्लेजुङले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासंगै ५ दलिय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले गठबन्धनको जिल्लागत तहको बैठक बस्नु अघि नै आफ्ना उम्मेदवारहरु घोषणा गरेको हो । जिल्ला अध्यक्ष मादेनले सम्मानजनक साझेदारीका लागि गठबन्धन पक्ष तयार नभए एक्लै चुनावी प्रतिश्पर्धामा जाने वा अन्य शक्तिसंग सहकार्य गर्ने भन्ने बिषय खुल्ला राखिएको जानकारी दिनुभयो । जिल्ला सचिव दुर्गाप्रसाद न्यौपानेले सम्माजनक रुपले सहकार्यका लागि गठबन्धन पक्ष तयार नभए एक्लै चुनावी मैदानमा जानुपर्नेगरी पत्रकार सम्मेलनमै प्रस्ताव गर्नु भएको थियो । सो प्रस्तावको सर्मथन गर्दै केन्द्रीय सदस्य साम्योले सम्मानजनक साझेदारीका लागि पहिलो प्राथमिकता गठबन्धन पक्ष भएपनि त्यो परिस्थति नबने अन्य दलसंग पनि चुनावी साझेदारी हुनसक्ने संकेत गर्नुभयो । जिल्ला अध्यक्ष मादेनले पहिलो चरणमा सहमति जुुटी सकेका उम्मेदवारको नामावली घोषणा गरिएको र अन्य क्षेत्रका उम्मेदवारका बारेमा छिट्टै निर्णयमा पुग्ने बताउनुभयो ।

Similar Posts