सकारात्मक नतिजा दिनेगरी खबरदारी गरिदिन ताप्लेजुङका प्रहरीप्रमुखद्धारा सञ्चारकर्मीसंग आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी

ताप्लेजुङ,चैत २१ । ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राईले सूचनाको आदानप्रदान सहित सकारात्मक नतिजा दिनेगरी खबरदारी गरिदिन ताप्लेजुङका सञ्चारकर्मीसंग आग्रह गर्नु भएको छ ।

ताप्लेजुङको प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएपछि पहिलोपटक यहाँका सञ्चारकर्मीसंग साक्षात्कार गर्दै उहाँले सकारात्मक नतिजाका लागि गर्ने खबरदारीलाइ आफु र आफ्नो मातहतको निकायले जहिल्यै ग्रहण गर्ने बताउनुभयो । शान्ति सुरक्षा सम्झौताहिन बिषय भएको भन्दै उहाँले समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नागरिककातर्फबाट आफुहरुले पनि केहि अपेक्षा गरेको बताउनुभयो । थाह भएको सम्मको सत्य सूचना दिएर अपराधिक घटनामा संलग्नको पहिचान गर्न तथा सम्भावित अपराधका घटना न्यूनीकरण गर्न समुदायका सदस्यको भूमिका बलियो हुने उहाँको भनाइ थियो । उहाँले फुङलिङको साँघुरो बजार क्षेत्रमा हुने यातायात समस्या र बिपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका सम्भावित योजना बारे आफ्नो ध्यान केन्द्रित भएको समेत बताउनुभयो ।

‘साँघुरो र पुरानो बजार क्षेत्र र पार्किङको अभावका कारण यातायात क्षेत्रमा अव्यवस्था हुने भएकोले यसलाइ सुव्यवस्थित बनाउन सरोकारवालापक्षसंग छलफल गरी निर्णयमा पुग्छौं,उहाँले भन्नुभयो । साँघुरो बजार क्षेत्रमा आगलागी सहितका जोखिम पनि उत्तिकै रहेको अवस्था आफुले पाएको भन्दै डिएसपी राईले जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार र समुदायसंग मिलेर काम गर्ने योजना समेत सुनाउनुभयो । बजार क्षेत्रमा हुने तीव्रगतिका सवारी साधनलाइ नियन्त्रणमा लिने,लागुऔषध दुव्र्यसन बिरुद्ध कडा रुपमा प्रस्तुत हुने र अपराधिक मनोवृति नियन्त्रणमा लिइ शान्ति सुरक्षा कायम गर्ने सवालमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ थियो । उहाँले ताप्लेजुङ सदरमुकाम प्रवेश मार्ग पाथीभरा याङ्वरक गाउँपालिकाको मेवाखा प्रहरी चेकपोष्टमा सीसि क्यामेरा जडान सहितका कार्य गर्ने बारे छलफल थालिसकेको पनि बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts