एक जिल्ला,एक उत्पादन’कार्यक्रम अन्र्तगत ताप्लेजुङमा राडिपाखी बनाउने तालिम सुरु
ताप्लेजुङ,चैत १४ ।‘एक जिल्ला,एक उत्पादन’कार्यक्रम अन्र्तगत ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा ४५ दिने राडीपाखी बुनाइ तालिम सुरु भएको छ ।
तालिमको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले उद्घाटन गर्नु भएको छ । उहाँले सिकेको सीपलाइ उपयोग गरेर साना उद्यम सृजनामा ध्यान केन्द्रित गर्ने हो भने यसले आत्मनिर्भर बन्न बाटो खुल्ने बताउनुभयो । फुङलिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले राडीपाखीका लागि कच्चा पदार्थको प्रसस्त सम्भावना भएको क्षेत्रमा नै यस सम्वन्धी तालिम सुरु भएकोमा प्रसन्नता व्यक्त गर्दै बजारीकरण सहितका अन्य सहयोगका लागि नगरपालिकाले छाती फराकिलो बनाउने जानकारी दिनुभयो । उद्योग अधिकृत युवराज घोर्साईले सीप हस्तान्तरण,बजारीकरण र प्राविधिक सहयोगका लागि घरेलु कार्यालयले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष समेत रहनु भएका उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले सीप,श्रम र रोजगारीको अवधारणा लागु गर्न तालिमप्राप्त भएकाहरु,स्थानीय सरकार र तालिम सेवा प्रदायकको एकमत रहनु पर्नेमा जोड दिनुभयो । घरेलु तथा साना उद्योग व्यवसायी महासंघका सचिव हर्कराज गुरुङले जिल्लाकै पहिचान दिने चीजबस्तुको उत्पादनलाइ लक्ष्य गरेर सीप हस्तान्तरण गर्न लागिएकोले तालिमप्रति सहभागीको लगाव महत्वपूर्ण हुने बताउनुभयो । तालिममा ३ लाख ५० हजार रुपैंया खर्च हुने घरेलु कार्यालयले जनाएको छ । उद्घाटन कार्यक्रम गुरुङ गुम्बा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमारी गुरुङको अध्यक्षतामा भएको थियो ।