भानुका प्यारा,गोरखप्यारा’नामको ग्रन्थको राजधानी काठमाडौमा बिमोचन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ४ । ताप्लेजुङको शैक्षिक क्षेत्रमा गुणस्तरीय परिवर्तनका संवाहक गोरखप्यारा श्रेष्ठको सम्मानमा प्रकाशित ग्रन्थ शुक्रवार राजधानी काठमाडौमा बिमोचन गरिएको छ ।

‘भानुका प्यारा,गोरखप्यारा’नामको ग्रन्थको पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले बिमोचन गर्नुभयो । ग्रन्थमा गोरखप्यारा श्रेष्ठले भानुजन माविमा दिएको शैक्षिक योगदानका बारेमा उहाँका पूर्व बिद्यार्थीहरुका आलेखहरु समेटिएका छन् । फुङ्लिङ नगरपालिका र फुङ्लिङस्थित भानुजन माध्यमिक बिद्यालयको सहयोगमा ग्रन्थ प्रकाशित भएको ग्रन्थ तयारी समितिका संयोजक डिल्लीजंग मादेनले जानकारी दिनुभयो । ग्रन्थ प्रकाशनका लागि मादेनको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । टंक श्रेष्ठले सम्पादक सहितको भूमिका निर्वाह गर्नु भएको थियो भने ग्रन्थ तयारी समितिमा यामकुमार श्रेष्ठ समेत रहनु भएको थियो । अहिलेको भानुजन माविलाइ नयाँ र आधुनिक तवरको बनाउने कार्यको मुख्य अगुवाइ गोरखप्याराले नै गर्नु भएको मानिन्छ । उहाँले २०२० साल देखि २०२३ सालको मध्यावधी समय सम्म भानु बिद्यालयको प्रधानाध्यापकको भूमिका निर्वाह गर्नु भएको थियो ।

ताप्लेजुङ जन्मघर भएपनि गोरखप्याराको अधिकाँस बसाइ पर्साको वीरगञ्जमा थियो । यद्यपी उहाँले ताप्लेजुङको शैक्षिक क्षेत्रमा भने आमूल परिवर्तनको अगुवाइ गर्नु भएको मानिन्छ । बिक्रम सम्वत् १९९५ सालमा जन्मनु भएका गोरखप्यारा पक्षघातका कारण शारिरिक अशक्त रहनु भएको छ । तर आफैं कार्यक्रम स्थलमा उपस्थित हुनु भएको थियो । अहिले उहाँको बोली नआउने मादेनले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईले अहिलेको भानुजन माविको यो अवस्थाको परिकल्पना गोरखप्याराकै देन भएको बताउनु भयो । कार्यक्रममा धुव्रनारायण श्रेष्ठ,नन्दकुमार प्रसाँइ तथा भानु बिद्यालयका पूर्व प्रधानाध्यापककोतर्फबाट तुलाराम गुरुङले गोरखप्याराको शैक्षिक योगदान बारे प्रकाश पार्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts