| | |

फुङ्लिङमा आगलागीः मानवीयसँगै ठूलो धनसम्पत्तिको क्षति

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन २७
। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ठूला–ठूला आगलागीका घटना हुने गरेको छ । पटक–पटक हुने आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने यसपटकको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।
शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्बाङ लिम्बूको मृत्यु भएको छ । केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो छोरीसँग बस्दै आउनुभएकी मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु बस्ने लिम्बूको आगलागीमा ज्यान गएको हो । प्रहरीकाअनुसार आगलागीमा परी गम्भीर घाइते भएपछि लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।
बिहान करिव ८ः३० बजेतिर कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट नजिकै रहेको संगिता मादेन लिम्बूको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ । आङ्बुहाङको अर्को पक्की घरमासमेत आंसिक क्षति पुगेको छ । मृतककी कान्छी छोरी कौशिला लिम्बू आङ्बुहाङको घरमा भाडामा बसेर फुङ्लिङ बजारमा फेन्सी कपडा व्यवसाय गर्दै आउनुभएको छ ।
यता सो आगलागीमा परी केही सामान्य घाइते भएका छन् । आगोबाट ज्यान बचाउनलाई भाग्ने र आगो नियन्त्रणमा लिने क्रममा केही स्थानीय घाइते भएका हुन् । आगलागीबाट घरधनी र भाडावाल गरेर आधा दर्जन बढी परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा घरधनी आङ्बुहाङ र मादेनको परिवार हुनुहुन्छ भने उक्त दुई घरमा भाडामा बस्नेहरु कुमारी शेर्पा, कौशिला लिम्बू, रेनुका लिम्बू, जङ्ग शेर्पा विस्थापित हुनुभएको छ ।
त्यस्तै टङ्क अन्छङ्बो, कुमारी तामाङको परिवार र कोठा भाडामा बस्ने एकजना विद्यार्थीसमेत विस्थापित हुनुभएको छ । विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले खाद्यान्न, भाँडावर्तन र लत्ता कपडाजस्ता सामग्री वितरण गरेको सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
यता आगलागीबाट करिव ४८ लाख ५७ हजार रुपियाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलकाअनुसार घरधनी आङ्बुहाङको १० लाख, मादेनको १५ लाख र बाँकी भाडामा बस्नेतसमेत गरेर उक्त मूल्य बराबरको क्षति भएको हो ।
सदरमुकाम फुङ्लिङ बजारमा पटक–पटक हुने आगलागी घटनामा घरधनी र धेरै भाडामा बस्नेहरुले धनसम्पत्ति गुमाउँदै आएका छन् । आगलागीले नगद, सुनचाँदी, व्यापार प्रयोजनका जिन्सी सामग्री लगायतका पूर्वाधार तथा संरचना जलेर नष्ट हुने हुँदा ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ । मानवीय क्षति भने यो दोस्रो पटक हो । यसअघि तोक्मेबजारको हटिया लाइनमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको थियो ।

फुङ्लिङमा पाँच ठूला आगलागी श्रृङ्खला

सदरमुकाम फुङ्लिङ बजारमा विगत २०६० सालयता १८ वर्षको अवधिमा पाँच ठूला–ठूला आगलागी घटना भएका छन् । यस अवधिमा बजारभित्रै स–साना आगलागीका घटना भने धेरै भएका छन् । जिल्लास्थित प्रहरी र रेडक्रस सोसाइटीले राखेको तथ्याङ्कअनुसार पहिलो पटक २०६० चैत १५ गते सदरमुकाममा ठूलो आगलागी घटना भएको थियो ।
सदरमुकामको मुख्यबजार वीरेन्द्रचौकमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए । वीरेन्द्रचौकमा भएको आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए भने ४१ करोड रुपियाँ बराबरको क्षति भएको थियो । यस्तै २०६९ माघ २६ गते फुङ्लिङबजारको शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेका थिए । उक्त आगलागीबाट १८ परिवार विस्थापित भ एभने आठ करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो ।
फुङ्लिङ बजारकै टुक्रेलाइनमा २०७० कात्तिक १८ गते भएको आगलागीमा आठघर पूर्णरुपमा जलेका थिए । सो आगलागीमा १७ परिवार विस्थापित भएका र करिव पाँच करोड रुपियाँ बराबरको क्षति भएको थियो । यसैगरी तोक्मेबजार क्षेत्रमा २०७१ चैत ९ गते भएको भीषण आगलागीमा ३७ घर जलेका थिए । उक्त सङ्ख्यामा घर जल्दा घरधनी र डेरावालसमेत १४५ परिवार विस्थापित भए भने ४० करोड रुपियाँको क्षति हुन पुगेको थियो ।
त्यस्तै २०७७ बैशाख १९ गते फुङ्लिङबजारको पूरानो बैङ्कलाइनमा आगलागी हुँदा आठ घर जलेको थियो भने ३० परिवार विस्थापित भएका थिए । सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको तथ्याङ्क रहेको छ ।
यसरी सदरमुकाम फुङ्लिङ बजारमा विभिन्न समयमा पटक–पटक आगलागी हुँदा ठूलो धन सम्पत्तिको क्षति भएको तथ्याङ्क छ । आगलागी घटना अधिकांस असावधानी र लापरबाहीले हुने गरेका छन् भने केही विद्युत सर्ट र अन्य कारणबाट हुने गरेको तथ्याङ्कमा उल्लेख छ । बजारमा पुरानो तथा काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएका संरचनाका कारण आगो सुरु भएपछि चाँडै धेरैतिर फैलने र क्षति पु¥याउने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts