| |

फुङ्लिङमा आगलागीः एक वृद्धाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीमा परी घाइते हुनुभएकी वृद्धाको मृत्यु भएको छ । आगलागीमा गम्भीर घाइते हुनुभएको ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीमा परी घाइते हुनुभएकी लिम्बूलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा उपचारार्थ भर्ना गरिएकी लिम्बूको मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । आगोले लिम्बूको शरीरको अधिकांस भाग जलेको थियो ।
यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते हुनुभएको बताइएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिव ८ः३० बजेतिर आगो उठेको थियो । सो आगलागीबाट नजिकै रहेको संगिता मादेन लिम्बूको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ भने आङ्बुहाङकै पक्की घरमा आंसिक क्षति पुगेको छ ।
यता आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र (दमकल) प्रयोगसहित आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन् । आगो करिव डेढ घण्टापछि नियन्त्रण आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts