ताप्लेजुङमा १७ वटा मतदान केन्द्र थपको प्रस्ताव गरिदैं

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन १६ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा आउँदो बैशाखमा हुने निर्वाचनमा ताप्लेजुङमा करिव १७ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोग समक्ष प्रस्ताव लैजाने तयारी गरिएको छ । तर मतदान स्थल भने यथावत् राखिने भएको छ ।

करिव २० हजार मतदाता थप भएको अवस्थामा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यसपहिले भन्दा कम्तिमा १७ वटा मतदान केन्द्र थप गर्नुपर्ने अवस्था औंल्याएको हो । स्थानीय तहको निर्वाचनका लागि १ सय २२ मतदान केन्द्रको प्रस्ताव गरिएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७३ मतदान स्थल र १ सय ५ मतदान केन्द्र थिए । २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भने १ सय १४ मतदान केन्द्र थिए । आठराइ त्रिबेणीमा १० मतदान केन्द्र रहेकोमा अहिले १२ मतदान केन्द्र रहने गरी प्रस्तावको तयारी गरिएको छ । फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकामा साविककै क्रमशः१५ र १३ मतदान केन्द्र कायम गर्ने जिल्ला निर्वाचन कार्यालयको प्रस्ताव छ ।

फुङ्लिङ नगरपालिकामा यसअघि १७ मतदान केन्द्र रहेकोमा अहिले ३ वटा बढाएर २० मतदान केन्द्र कायम गर्न प्रस्ताव अघि सारिएको छ । मिक्वाखोला गाउँपालिकामा यसअघि ७ मतदान केन्द्र भएकोमा अहिले १० र मेरिङदेन गाउँपालिकामा यसअघि १० मतदान केन्द्र रहेकोमा अहिले ११ मतदान केन्द्रको प्रस्ताव गर्न लागिएको छ । यसअघि ९–९ मतदान केन्द्र मैवाखोला र पाथीभरा याङ्वरकमा अहिले क्रमश १२ र १३ मतदान केन्द्रको प्रस्ताव गर्न लागिएको छ । नगरपालिका पछि सबैभन्दा बढी मतदाता रहेको सिरिजङ्गा गाउँपालिकामा अहिले १६ मतदान केन्द्रको प्रस्ताव गरिएको छ । २०७४ सालमा त्यहाँ १५ वटा मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले तयार पारेको यो प्रस्ताव प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला निर्वाचन समन्वय समितिको बैठकमार्फत सरोकारवालाहरुसंग छलफल गर्ने तयारी गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts