| |

एमसीसीविरुद्ध सत्तारुढ दलसहितको संयुक्त मसाल जुलुस

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १२ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एमसीसीविरुद्ध सत्ता साझेदारसहितका राजनीतिक दलले बिहीबार साँझ मसाल जुलुस निकालेका छन् । हाल संसदमा टेबुल भइसकेको एमसीसीविरुद्ध मसाल जुलुस निकालिएको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) निकट वाईसीएल नेपाल, अखिल क्रान्तिकारी, र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले संयुक्त रुपमा मसाल जुलुस निकालेका हुन् । एमसीसी खारेज गरौं, राष्ट्रिय स्वधिनताको रक्षा गरौंजस्ता नारासहित वीरेन्द्रचौकबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो ।
प्रहरीका हस्तक्षेपकाबीच नेकपा र वाइसीएल तथा अखिलका कार्यकर्ताको सहभागितामा मसाल जुलुस सम्पन्न गरिएको नेकपाका जिल्ला नेता असल पन्दाकले जानकारी दिनुभयो । यता बिहीबार दिउँसो एमसीसीविरुद्ध माओवादी केन्द्र, नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले फुङ्लिङ बजारमा प्रदर्शन गरेका थिए ।
फुङ्लिङ बजारमा प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै आन्दोलनरत दलका नेताहरुले एमसीसी राष्ट्रघाती भएकोभन्दै खारेज गनुपर्ने बताएका थिए । विभिन्न समय र कालखण्डमा राष्ट्रघाती सन्धि/सम्झौता हुँदै आएको र अहिले पनि राष्ट्रियतालाई नै धराप र खतरामा पार्नेगरी एमसीसी पारित गर्न लागिएकाले यसविरुद्ध आन्दोलित हुनुपरेको नेताहरुले बताएका छन् ।
अहिले एमसीसीविरुद्ध सचेत हुनुपर्ने र सबै देशभक्त नेपाली नागरिक एकजुट हुनुपर्ने पनि बताएका छन् । हाम्रो देश नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्नेगरी राष्ट्रिय स्वाधीनताको कुनै ख्याल नगरी एमसीसीका पक्षमा लाग्ने दलालहरुलाई लखेट्ने दिन आएकोभन्दै नेताहरुले आक्रोस पोखेका छन् । यो समयमा राष्ट्रिय स्वाधीनता रक्षाका लागि पार्टीभन्दा माथि उठेर सबै देशभक्त नेपाली एकजुट हुनुपर्ने दिन आएको बताएका छन् ।
कोणसभालाई नेकपाका जिल्ला इन्चार्ज जोखिम बोहोरा, वाईसीएलका नेता कैलास माबो लिम्बू लगायतले सम्बोधन गर्नुभएको थियो । यता शुक्रबारदेखि अझ सशक्त रुपमा एमसीसीविरुद्ध रहेका सबै दल र नागरिकबीच संयुक्त प्रदर्शन साथै अन्य विरोधका कार्यक्रमलाई एकसाथ अगाडि बढाउनेगरी तयारी भइरहेको असल पन्दाकले जानकारी दिनुभयो ।

Similar Posts