ताप्लेजुङका ४ स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा पृष्ठपोषणका लागि पेश नै गरेनन्
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २७ । ताप्लेजुङका ४ स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा पृष्ठपोषणका लागि सम्वन्धित अधिकारी समक्ष पेश नै नगरेको पाइएको छ ।
आठराइ त्रिबेणी गाउँपालिका,सिदिङ्वा,मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिकाले स्वमूल्याङ्कनको प्रारम्भिक नतिजा तयार गरी पृष्ठपोषणका लागि पेश गर्नुपर्ने अधिकारी समक्ष पेश नगरेको पाइएको हो । जिल्ला भरमा रहेका स्थानीय तहले स्वमूल्याङ्कनको प्रारम्भिक नतिजा तयार पारी पृष्ठपोषणका लागि सम्वन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ ।‘४ वटा स्थानीय तहले स्वमूल्याङ्कनको नतिजा पृष्ठपोषणका लागि पेश गरेका छैनन्’जिल्ला समन्वय अधिकारी आत्मराम सत्यालले भन्नुभयो । उहाँका अनुसार यहिँ माघ महिना भित्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा प्रबिष्टी गर्ने ‘सर्भर’ बन्द हुने जोखिम छ । मन्त्रालयबाट आफुलाइ त्यस्तो जानकारी आएको र आफुले जतिसक्दो चाँडो कार्य सम्पादन गरिसक्न स्वमूल्याङ्कनको नतिजा पृष्ठपोषणका लागि पेश नगर्ने स्थानीय तहलाइ खबर गरेको समेत उहाँले बताउनुभयो । नियमत पुस मसान्त सम्ममा स्वमूल्याङ्कनका सबै कार्यभार पूरा गरिसक्नुपर्ने हुन्छ । तर यसपटक अत्यधिक हिमपात र चिसोका कारण स्थानीय तहले आफ्नो वेवसाइटमा सार्वजनिक गर्ने म्याद माघ मसान्त सम्म दिएको र त्यसपछि भने स्वतः‘सर्भर’ बन्द हुने अवस्था रहेको सत्यालले जानकारी दिनुभयो ।
स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न तथा विकास र सुशासनमा रहेका कमीकमजोरीहरुको जानकारी लिइ आवधिक समिक्षाको आधार प्राप्त गर्न संस्थागत क्षमता स्वमूल्याङ्कन गरिन्छ । यो प्रकृयाले प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्छ । ‘स्थानीय तहले गरेका राम्रा अभ्यास, सिकाई र उपलब्धिहरूलाई उजागर गर्दै सुशासन प्रवद्र्धन गर्न समेत यो अभियान कामयावी हुने समेत जिसस अधिकारी सत्यालले बताउनुभयो । सत्यालले स्वमूल्याङकन पछि गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिश्पर्धात्मक सुधारमा अग्रसर गराउन समेत यो कार्य निकै प्रभावकारी हुने बताउनुभयो । शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बार्षिक बजेट तथा योजना व्यवस्थापन,बित्तीय एवम् आर्थिक व्यवस्थापन,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा बिपद् व्यवस्थापन र तीनै तहका सरकार बीच सहकार्य र समन्वयका आधारलाइ संस्थागत क्षमता स्वमूल्याङ्कनका सर्तको रुपमा लिइन्छ ।
स्वमूल्याङ्कनका लागि निर्वाचित जनप्रतिनिधि र कर्मचारीलाइ स्वमूल्याङ्कनका उद्देश्य र विधिका बारेमा जानकारी गराउने,बिषयगत क्षेत्रहरुको स्वमूल्याङ्कनका लागि स्थानीय तहका सम्वन्धित विभाग,महाशाखा र शाखालाइ सहभागी गराउने,सबै विभाग,महाशाखा र शाखाहरुसंग समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृतले एकजना अधिकृत कर्मचारीलाइ सम्पर्क व्यक्ति तोक्ने, विभाग,महाशाखा र शाखाहरुले आफ्नो बिषयगत क्षेत्रसंग सम्वन्धित सूचकको लेखाजोखा गरी यसको नतिजा सम्पर्क व्यक्तिलाइ उपलब्ध गराउने र सम्पर्क व्यक्तिले एकिकृत रुपमा प्रारम्भिक नतिजा प्रस्तावित गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने लगायतका कार्य हुनेछन् । यस्तै प्राप्त नतिजा कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने,नतिजाउपर सूचकगत रुपमा छलफल र बिश्लेषण गरी सम्वन्धित बिषय क्षेत्रको यर्थात अंकभार निर्धारण गर्ने,स्वमूल्याङ्कनको अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन गर्ने,कार्यपालिकाले अनुमोदन गरेको ७ दिन भित्र मूल्याङ्नको नतिजा कार्यालयको वेभसाइट तथा सूचनापाटीमार्फत सार्वजनिक गर्ने र स्वमूल्याङ्नको अन्तिम नतिजाको प्रति कार्यपालिकाको बैठकबाट अनुमोदन भएको ७ दिन भित्र सम्वन्धित जिल्ला समन्वय समिति,प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला मन्त्रालयमा पठाउनुपर्ने कार्यविधि रहेको छ ।
स्वमूल्याङ्नमा सिरिजङ्गा पहिलो
संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा पेश गर्ने यहाँका ५ स्थानीय तहमध्ये सिरिजङ्गा गाउँपालिका अब्बल देखिएको छ । सिरिजङ्गाको अंक ७३.५ रहेको छ भने दोस्रोमा रहेको फुङलिङ नगरपालिकाको ६८.२५ अंक रहेको छ । तेस्रोमा मिक्वाखोला गाउँपालिका देखिएको छ । उसको अंक ५०.२५ अंक हुँदा पाथीभरा याङ्वरक गाउँपालिकाको ४८ र मैवाखोला गाउँपालिकाको ३५.२५ अंक रहेको संस्थागत क्षमता स्वमूल्याङ्कन सम्वन्धी नतिजा दिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको छ ।