| |

सिदिङ्वामा माघ मसान्तसम्म विद्यालय बन्द

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १९ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा माघ मसान्तसम्म विद्यालय बन्द हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हाल तीब्र रुपमा बढ्न थालेको अवस्थालाई दृष्टिगत गरी सिदिङ्वामा विद्यालय बन्द हुने भएको हो ।
सिदिङ्वा गाउँपालिका, शिक्षा शाखा प्रमुख सेमन्त भट्टराईले मंगलबार सूचना जारी गर्दै पालिकाभित्रका सबै विद्यालयहरु आगामी माघ मसान्त सम्मलाई भौतिक उपस्थितिमा सञ्चालन नगर्न नगराउन उल्लेख गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलेसमेत विद्यालयहरु सञ्चालन नगराउन भनिएको हुँदा सोहीअनुसार सबै विद्यालयलाई विद्यालय नखुलाउन अनुरोध गरिएको भट्टराईले जानकारी दिनुभयो ।
यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सोमबार नै सूचना जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रण गर्नका सबै अग्रसर हुनुपर्ने आग्रह गर्नुभएको छ । प्रजिअ पाण्डेले माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालयसहित शिक्षण संस्था बन्द गर्न, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जमघट नगर्न लगायत आठ बुँदे सूचना जारी गर्नुभएको छ ।
यस्तै कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिँदै गएकोले सरकारले पनि यसअघि नै देशभरका सबै शिक्षण संस्था माघ मसान्तसम्म नखुलाउन भनेको छ । सरकार र स्थानीय प्रशासनको आग्रह साथै निर्देशनको उल्लंघन गर्दै जिल्लाका कतिपय स्थानीय तहमा विद्यालयहरु निरन्तर सञ्चालनमा छन् भने भेला, सभा, बैठकजस्ता मानिस जमघट हुने क्रियाकलाप पनि रोकिएका छैनन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts