एचपीएफ र रोटरीका बिभिन्न डिस्ट्रीक मिलेर फेरिदिए बाँजोगरा स्कुलको मुहार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १८ । अरुलाइ जलेर उज्यालो दिने बत्ति आफ्नै मुनि भने अध्याँरोको मार्का खेपीरहेको हुन्छ । केहिबर्ष अघि सम्म ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित बाँजोगरा आधारभूत बिद्यालयको हविगत त्यस्तै थियो ।
जीर्ण भवन कहिले लडेर बालबच्चा किच्ने हो भन्ने त्रासले बिद्यालय प्रशासन,बिद्यालय व्यवस्थापन समिति र बिद्यार्थी आफैंपनि भयभित थिए । भवन जीर्णमात्र थिएन । केहि कक्षा कोठाको एकापक्षको पर्खाल लडेर पूरै उदाङ्गो थियो । यस्तै टिठ लाग्दो अवस्थाका बीच बिद्यार्थीले डराइ–डराइ पढ्नु पर्दा बरु खुल्ला आकास मुनि नै पो सुरक्षित हुन्छ की जस्तो पनि देखिन्थ्यो ।‘हैट उतिबेलाको त्यो बिद्यालयको अवस्थाको त कुरै नगरौं’पत्रकार महासंघ ताप्लेजुङका तत्कालिन कार्यवाहक अध्यक्ष चन्द्र पन्दाकले भन्नुभयो । बिद्यालयको पूर्वाधारको अवस्था कमजोर देखेपछि प्रेश संगठन नेपालले २०७६ सालमा आफ्नो स्थापना दिवस मनाउने क्रममा त्यहिँ बिद्यालयका बिद्यार्थीलाइ स्टेशनरी सामग्री बितरण गर्ने निर्णय लियो । बितरण गर्न पुग्नु भएका पूर्व सांसद तिलकुमार मेन्याङ्वो बिद्यालयको अवस्था देखेर आफैं छक्क पर्नुभयो । ‘सदरमुकामकै बिद्यालयको हविगत यस्तो दयनीय ? ’स्टेशनरी सामग्री बितरण कार्यक्रमलाइ सम्बोधन गर्दै मेन्याङ्वोले भनेको कुराको स्मरण गर्दै प्रेश संगठनका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीले भन्नुभयो‘यस्तो दयनीय अवस्था त सायद कमै बिद्यालयको मात्र भेटिन्छ’ । बाँजोगरा आधारभूत बिद्यालयको यो अवस्थाका बारेमा सञ्चारकर्मीले बिभिन्न सञ्चारमाध्यममा समाचार पनि प्रकाशित गरे ।
बिद्यालयको यो अवस्थाका बारेमा ह्युमन प्राटिक्स फउण्डेसन(एचपीएफ)मार्फत रोटरीका बिभिन्न निकायहरुले चासो राखे । त्यो चासो अन्ततः बिद्यालय भवन बनाउनमा मात्र सिमित भएन,बिद्यालयको पूर्वाधार समेतको मुहार परिवर्तनमा केन्द्रित भयो । दुईबर्ष अघिको बाँजोगरा आधारभूत बिद्यालयको अवस्थालाइ नजिकबाट नियाल्नु भएकी स्थानीय अभिभावक भोमादेवी पोखरेल बिद्यालयको अहिलेको अवस्था देखेर चकित हुनुहुन्छ । ‘मैले त त्यहिँ स्कुललाइ झण्डै चिनिन’नयाँ भवन बनेपछिको सुखी प्रकट गर्दै पोखरेलले भन्नुभयो । पोखरेलले भने झैं बाँजोगरा आधारभूत बिद्यालयको नवनिर्मित भवनलाइ हेर्ने हो भने दुईबर्ष अघिको त्यो अलपत्र भवनको दुःख बिर्साउँछ । बिद्यालय रहेको फुङ्लिङ नगरपालिका वडाका नं ६ का वडाध्यक्ष बलबहादुर गुरुङ लड्न लागेको बिद्यालयको नयाँ संरचनाले शिक्षक तथा बिद्यार्थीको जीवन भबिष्य जोगिएको तर्क गर्नुहुन्छ ।‘यदि त्यै पुरानै भवन भएको भए लडेर कहाँ,कैले र कसको जीवन जोखिममा पाथ्र्यो,त्यसको कुनै भेउ नहुने अवस्था अब अन्त्य भयो’वडाध्यक्ष गुरुङले भन्नुभयो । वडा र पालिकाको बजेटले नभ्याउने अवस्थामा बिद्यालयको भवन बनाइदिन सहयोग गर्ने निकायप्रति वडाध्यक्ष गुरुङले आभार प्रकट गर्नु भएको छ । अहिले बिद्यालयमा ६ कोठे भवन(३ कोठाको दुईवटा ब्लक) र सुबिधा सम्पन्न शौचालय बनेको छ ।
बिद्यालय सुबिधा कार्यक्रम अन्र्तगत बिद्यालयमा पुस्तकालय र खेल मैदान निर्माण भइसकेको छ भने कम्युटर ल्याव भने निर्माणाधिन अवस्थामा रहेको छ । बिद्यालयका प्रधानाध्यापक खड्गबहादुर थापा बिद्यालयमा फेरिएको पूर्वाधारले प्रसन्न हुनुहुन्छ ।‘अब नानीहरु भवनले किचेर मर्दैनन् भन्ने बिश्वास पलाएको छ’जीर्ण भवन लडेर कहिले मरिएला भन्ने चिन्ता हटेको बताउँदै थापाले भन्नुभयो । भवन मात्र बनेको छैन । बिद्यालयमा नानीबाबुहरुले खेल्न प्रयोग गर्ने खेल मैदान,पढाइलाइ सघाउ र व्यवस्थित बनाउने पुस्तकालय र कक्षा कोठा भित्र चाहिने पूर्वाधार समेत संगै थपिएका छन् । केहि समय पछि निर्माण सम्पन्न हुने कम्प्युटर ल्यावले बिद्यार्थीकालको सुरुवातमै बिद्यार्थीमा नयाँ प्रविधिसंगको सामिप्यता बृद्धि गर्ने थापाको बिश्वास रहेको छ । ‘अरे अब त हाम्रो बिद्यालय हेर्न जाउँ भनेर कसैलाइ आमन्त्रण गर्ने मन पलायो भनेपनि मजै लाग्छ’बिद्यालय पूर्वाधारको पछिल्लो अवस्थाप्रति सुखी प्रकट गर्दै थापाले भन्नुभयो । उहाँले बाँजोगराको मुहार फेर्न सघाउने क्रममा समन्वयको भूमिका सहित आर्थिक साझेदारी गर्ने एचपीएफ,रोटरी क्लव अफ जावलाखेल RI District 3292,रोटरी क्लव अफ Aalborg Vestre, RI District 1440,स्थानीय समुदाय र आर्थिक साझेदारी गर्ने Rotary Foundation, GG 1983442 प्रति आभार प्रकट गर्नु भएको छ । एचपिएफका जिल्ला कार्यक्रम प्रवन्धक अमित श्रेष्ठका अनुसार बिद्यालय भवन र शौचालय निर्माण रोटरीका बिभिन्न डिस्ट्रीकहरुले र खेलमैदान,कम्प्युटर ल्याव र पुस्तकालय भने एचपीएफमार्फत व्यवस्थापन भएको छ ।