ताप्लेजुङमा ६५ प्रतिशतले लगाए कोरोना खोपको दोस्रो मात्रा,प्रदेशमै पहिलो हुने लक्ष्य
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १८ । ताप्लेजुङमा ६५ प्रतिशत नागरिकले कोरोना खोपको दोस्रो मात्रा लगाएको पाइएको छ । ६४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । एक मात्रा(जोन्सन एण्ड जोन्सन)मात्र लगाए पुग्ने खोपलाइ पूर्ण खोपको रुपमा लिएकाले पहिलो भन्दा दोस्रो मात्रा लगाउनेको संख्या बढी देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार २०७८ साल पुस मसान्त सम्म कोरोना बिरुद्धको खोपको कभरेज ६६ प्रतिशत पु¥याउने राष्ट्रिय लक्ष्य रहेको थियो । ताप्लेजुङमा मोर्डना खोपको दोस्रो मात्रा लगाउने क्रम जारी रहेको तर त्यसको सबै तथ्याङ्क प्रबिष्ट भइ नसकेकोले ताप्लेजुङको प्रगति राष्ट्रिय लक्ष्य भन्दा माथि पुगेको रायले बताउनुभयो । अहिले ताप्लेजुङमा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले सञ्चालन भएका खोप अभियानको सबै नतिजा आइसकेको अवस्थामा खोप कभरेजको दृष्टीले ताप्लेजुङ प्रदेश १ मै पहिलो हुने संकेत देखिएको उहाँले बताउनुभयो ।‘सोहि अनुुसार खोप अभियानलाइ तीव्रगतिमा अघि बढाइएको छ’रायले भन्नुभयो ।
पालिकामा खोप कभरेजका हिसावले भने फक्ताङ्लुङ गाउँपालिका पहिलो र फुङ्लिङ नगरपालिका दोस्रो अवस्थामा रहेको छ । सीमावर्ती क्षेत्रका १८ बर्ष भन्दा माथिका सबै नागरिकलाइ खोप लगाउनुपर्नेगरी फक्ताङ्लुङ गाउँपालिका खोपको पहिलो सूचीमा थियो भने त्यसपछि फुङ्लिङ नगरपालिका रहेको थियो । खोप सुपरभाइजर रायका अनुसार फक्ताङलुङमा पहिलो मात्रा ७५ प्रतिशतले र दोस्रो मात्रा ७८ प्रतिशतले लगाएका छन् ।
फुङलिङमा पहिलो र दोस्रो मात्रा लगाउनेको प्रतिशत क्रमशः ७५ र ७६ रहेको छ । जिल्लाभरमा सबैभन्दा कम खोपको कभरेज मेरिङ्देन गाउँपालिकामा देखिएको छ । त्यहाँ पहिलो मात्रा लगाउने ४७ प्रतिशत र दोस्रो मात्रा लगाउने ५१ प्रतिशत रहेका छन् । यस्तै सिदिङ्वामा पहिलो र दोस्रो दुबै खोप लगाउने ६३ प्रतिशत रहेका छन् । सिरिजंगामा ७० प्रतिशतले पहिलो मात्रा र ६८ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । यस्तै मैवाखोलामा ५० प्रतिशतले पहिलो र ५५ प्रतिशतले दोस्रो,मिक्वाखोलामा ५५ प्रतिशतले पहिलो र ५९ प्रतिशतले दोस्रो तथा पाथीभरा याङ्वरकमा ६० प्रतिशतले पहिलो र ६४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । आठराइ त्रिबेणीमा पहिलो र दोस्रो मात्रा लगाउनेको प्रतिशत समान ६२–६२ रहेको छ ।